टीकापुरको जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण गरिँदै

  बैशाख ३०, २०८१

टीकापुर (कैलाली), ३० वैशाख : कैलालीको टीकापुर नगरपालिकाको जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण हुँदैछ । योजना निर्माणको तयारीसम्बन्धी प्रकोप जोखिम निर्धारणको प्रस्तुतीकरण तथा योजनाको मस्यौदामा भएका विषयवस्तुमाथि छलफल भएको छ ।

परामर्शदाता टोली नेता डा सञ्जय उप्रेतीले नगरको बहुप्रकोप जोखिमको अवस्था अध्ययन गरी तयार गरिएको भू–उपयोग योजनाको मस्यौदा प्रस्तुत गर्नुभयो । योजनामा नगरपालिकाले प्रत्येक वर्ष बहुप्रकोपको जोखिमको सामना गरिरहेको उल्लेख छ ।

भू–उपयोग योजनामा व्यापारिक क्षेत्र, मिश्रित आवासीय, संस्थागत क्षेत्रहरू, योजनाबद्ध आवासीय, विशेष विकास, संरक्षण, कृषि, औद्योगिक क्षेत्र समेटिएका छन् । प्रकोप अध्ययन गर्दा सडक पूर्वाधार, कृषि, जनसङ्ख्या र भवन हेरेर, हरेक प्रकोप र जोखिम पक्ष विश्लेषण गरेर वडास्तरमा छलफल गरी नतिजा प्राप्त गरेको र क्षतिकोसमेत मूल्याङ्कन गरिएको परामर्शदाता उप्रेतीले बताउनुभयो ।

“भू–उपयोग योजना २७ अध्ययनकर्ताले घरघरमा गएर तथ्याङ्क सङ्कलन गरेका हुन्”, उप्रेतीले भन्नुभयो, “योजनामा टीकापुर भूकम्पको उच्च जोखिममा, आगलागीको प्रकोपका दृष्टिले नगरका सबै वडा फरक-फरक जोखिमस्तरमा छन्, जसमा वडा नं १, ५ र ९ बढी संवेदनशील वडाका रूपमा पहिचान गरिएको छ ।”

बाढीको जोखिम संवेदनशीलताको मूल्याङ्कन गर्दा वडा नं १ का केही बस्ती, वडा नं ५ र ७ का धेरै बस्ती, वडा नं ६ र ९ का दैलेखपुर तथा पायलगाउँजस्ता बस्ती अतिसंवेदनशील बस्तीका रूपमा पहिचान गरिएको छ । बहु प्रकोप जोखिम मूल्याङ्कनले वडा नंं १ कम बहु प्रकोप जोखिममा देखिएको छ । वडा नं ८ उच्च जोखिम, वडा नं २, ५ र ६ मध्यम जोखिममा रहेको पहिचान गरिएको छ । यसकै आधारमा वडाको भूमिलाई पनि उच्च जोखिम, मध्यम जोखिम तथा न्यून जोखिम क्षेत्रमा वर्गीकरण गरिएको छ । 

परियोजनाले गरेको अध्ययनले वडा नं ६ र ९ विशेषगरी सङ्कटापन्न रहेको देखाएको छ । वडा नं ६, ७ र ९ का लागि अल्पकालीन योजना लागू गरी वडा नं ६ मा खानेपानी आपूर्ति, सरसफाइ र सडक पहुँचमा सुधार गर्नुपर्ने देखिएको छ । वडा नं ७ र ९ मा पूर्वाधार स्तरोन्नति र उत्थानशीलताका लागि सामुदायिक तयारी बढाउनुपर्ने आवश्यकता रहेको बताइएको छ ।

कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारुले योजनामा तालतलैया, रानीजमरा कुलाका शाखा उपशाखा कुला, झरन कुलालाई पनि समेट्न आवश्यक रहेको बताउँदै सबै कुरा समेटिएमा योजना बनाउन सहज हुने सुझाव दिनुभयो । नगर प्रमुख थारुले भू–उपयोग योजना भएमा पालिकालाई विकास निर्माणका कार्य गर्न, भौतिक संरचना निर्माण गर्न, सामाजिक विकासका क्षेत्रमा लगानी गर्न र विपद्को सामना गर्नका लागि सहज हुने बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया