श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

  बैशाख २९, २०८१

बरहथवा (सर्लाही), २९ वैशाख : सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् ।

ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गएराति रम्भाको घर अगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार चुडिएर झरेको थियो । इन्टरनेटको तार उठाउन खोज्दा रम्भालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । श्रीमान्लाई करेन्ट लागेको देखेपछि हतार हतार बचाउन पुगेकी कुसुमलाई पनि करेन्ट लागेको थियो ।

घटना लगतै स्थानीयले महतो दम्पतीलाई उपचारका लागि अस्पताल पु¥याएका थिए । उपचारका लागि कुसुमलाई सिद्धि विनायक अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमान् रम्भाको भने बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको सवपरीक्षणको लागि प्रदेशिक अस्पताल मलङ्गवामा राखिएको इलाका प्रहरी कार्यालय केश्वरगङ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया