‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण

  बैशाख २९, २०८१

काठमाडौँ, २९ वैशाख : लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ । लेखक स्वयम्को अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित कृतिमा अनिन्द्राका कारण बिताउन परेको शारीरिक र मानसिक कष्टपूर्ण जीवनको अनुभूति समावेश छ ।

हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी (कमल), हरिवनस्थित चतुर्भुजेश्वर जनता माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद भट्टराई, पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की, वरिष्ठ पत्रकार धु्रवहरि अधिकारी, पोखरा विश्वविद्यालयका पूर्वउपकूलपति खगेन्द्र भट्टराई, नेपाल सरकारका पूर्वसचिव दिनेशहरि अधिकारीलगायतले आज यहाँ आयोजित कार्यक्रममा संयुक्तरूपमा पुस्तक लोकार्पण गर्नुभयो ।

साङ्ग्रिला टुरिजम एण्ड होटल ट्रेनिङ सेन्टर प्रकाशनद्वारा प्रकाशित कृतिमा अनिद्राबाट उत्पन्न गराएको निराशा, बेचइनी र पीडाबाट संसार नै त्याग्न पर्छ कि भन्ने सोचमा पुगिसकेका लेखकलाई औषधिभन्दा आत्मबलबाटै निदाउन बल प्रदान गरेका घटना र विषयवस्तु सन्देशका रूपमा समेटिएको छ ।

‘एकरातको निद्राले सात रात पीर्छ’ भन्ने भनाइ रही आएकामा लेखकको आहार र बिहार ठीकठाक रहदाँ पनि अचानक वर्षाैसम्म अनिन्द्राबाट गुज्रनुपरेको घटना र परिवेश पुस्तकमा सटिक र बुँदागतरूपमा राखिएको छ । अनिद्रा मेटाउने क्रममा चिकित्सकबाटै सिफारिस गरिएका औषधिले समस्या निदानको साटो घातक भएको उल्लेख छ ।

त्यसअवसरमा नगरप्रमुख बुढाथोकीले चिकित्सकले सिफारिस गरेको भन्दैमा जस्तासुकै औषधिको प्रयोग गर्नुभन्दा एउटा सचेत मानिसको आत्मबल र हिम्मतले कतिपय रोगनिको गर्न सकिन्छ भन्ने उदाहरण पुस्तकमा रहेको बताउनुभयो । उहाँले हरिवन नगरपालिका जनस्वास्थ्य नीति तर्जुमा गर्ने अभियानमा जुटेकाले विभिन्न सल्लाह र सुझाव दिई सहयोग पु¥याउन नगरबासीलाई आह्वान गर्नुभयो ।

पूर्वउपकुलपति भट्टराईले राजनीतिक दलहरू सत्ताको लडाईमा रहेकाले जनस्वास्थ्यमा ध्यान नदिँदा जनताले कतिपय गुणस्तरहीन औषधिसमेत खान बाध्यरहेका बताउनुभयो । पूर्वप्रधानाध्यापक भट्टराईले पछिल्लो समय राजनीतिक नेतृत्वदेखि समाजका सबै तह र तप्काका मानिस केवल लिनमात्रै आएजस्तो भान भएकाले देशप्रतिको जिम्मेवारी, कर्तव्य र लगाव कमजोर हुँदैगएको धारणा राख्नुभयो ।

पूर्वमहान्यायाधिवक्ता कार्कीले अनिन्द्राका विषयमा लेखकले साविति प्रमाणसहितका विषयवस्तु समेटिएको कृतिमा एउटा स्वस्थ्य मानिसका लागि आहार, बिहार र निद्रा उतिकै महत्वपूर्ण हुन्छ भन्ने सुझाव दिइएको बताउनुभयो । वरिष्ठ पत्रकार अधिकारीले निद्राको विषयलाई केन्द्रमा राखेर अनुभवका आधारमा लेखिएको सानो आकारको पुस्तकमा पढेर नभई परेर जानेका व्यवहारिक स्वास्थ्यसम्बन्धी ठूला सन्देश समेटिएको बताउनुभयो ।

पूर्वसचिव अधिकारीले मुलुकको स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिप्रति औला ठड्याउँदै यस क्षेत्रमा सेवाभाव हुनुपर्छ भन्ने सन्देश कृतिमा रहेको विचार व्यक्त गर्नुभयो ।

त्यसअवसरमा साङ्ग्रिला टुरिजम एण्ड होटल ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक संगीता श्रेष्ठ, लेखक श्रेष्ठ र हरिवन–काठमाडौ सम्पर्क समाजका पूर्वअध्यक्ष चेतप्रसाद बराललगायतले अनिन्द्रालगायतका समस्याबाट मुक्ति पाउन औषधि उपचारका साथै मनोबल उच्च पार्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कृतिमा अस्पताल र डाक्टरको कुचक्र, मेडिकल क्षेत्र र अनिद्राको उपचार, निन्द्राका गोलीको केही तथ्य, दिमागका नकारात्मक पक्ष, किन अनिन्द्राले सताउँछ ? पीडितबाट अन्जानमा हुने केही गल्ती, समाधानका सूत्र, केही बाह्य उपायलगायतका शीर्षकमा लेखकले आफना भोगाई प्रस्तुत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया