नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक सेवा सुरु

  बैशाख २४, २०८१

काठमाडौँ, २४ वैशाख : राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिकरुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रिता पोखरेलले आजबाट औपचारिकरुपमा सेवा सुरु भएको जानकारी दिनुभयो । 

“हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानुनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले केही समयपछि चालक र यात्रुको बिमा पनि गरिने बताउनुभयो । राइडरहरुले सेवा उपयोग गरे बापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्नेसमेत जानकारी दिनुभयो । 

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ ।

इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिकरुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्त्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।” (रासस)

तपाईको प्रतिक्रिया