सरकारलाई बलियो बनाउने विधेयक अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री

  बैशाख २०, २०८१

काठमाडौँ, २० वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई बलियो बनाउने गरी विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सरकार बलियो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जुन पार्टीको सरकार भएपनि र जो व्यक्ति मन्त्री भएपनि सरकार बलियो हुनुपर्ने बताउनुभयो । विधेयकको छलफलका क्रममा बोल्दै सांसदले राज्यले सञ्चालन गर्ने मिडियाको सञ्चालक समिति अध्यक्षमा मन्त्री र सचिवलाई नराखी सभामुख अथवा राष्ट्रिय सभा अध्यक्षलाई बनाएर स्वतन्त्र निकाय बनाउनुपर्ने कुरा राखेपछि उहाँले यस्तो बताउनुभएको हो । राज्यका ठुला पदीय दायित्वमा भएका व्यक्तिलाई यस्ता समितिमा राख्नु नहुने मन्त्री शर्माको धारणा छ ।

उहाँले भन्नुभयो, ‘‘सञ्चालन गर्ने मुख्य मान्छे त अध्यक्ष हो । अध्यक्ष प्रस्तुतिको आधारमा बनाउने कि नियुक्त गर्ने । नाम सिफारिस गरेर त्यही व्यक्तिलाई नेपाल सरकारले तोक्ने हो भने यस्तामा चाहिँ हुनसक्छ । यदि साँच्चै व्यक्तिलाई प्रस्तुति गराउने, योग्य व्यक्ति ल्याउने, स्वतन्त्र व्यक्ति ल्याउने । मेरिटोक्रेसीमा जाने भन्ने हो भने सभामुख र मन्त्री उसको प्रस्तुति हेरेर बस्न सक्ने हो कि होइन ? हामी व्यक्तितिर नहेरौँ भन्ने हो मेरो भनाइ । मन्त्रीतिर पनि नहेरौँ । अरूतिर पनि नहेरौँ । राष्ट्रिय सभाले सिफारिस समितिमा योजना आयोगको सदस्य लिएर आएको छ । तर के गरौँ भने सरकारले गरेका काम, कारबाही गलत छन् भने त्यसलाई नियमन गर्ने, नियमनकारी रूपमा जाने, आलोचना गर्ने एउटा पाटो हो । सरकार बलियो हुनुपर्छ भन्ने धारणा अनुरूप नै हामी अगाडी जानुपर्छ जस्तो लाग्छ । यस्तो खालको जिम्मेवारीमा ठुलो पदीय दायित्वका व्यक्तिलाई इन्गेज गराउने कुरा गम्भीरतापूर्वक सोचौँ भन्ने मेरो आग्रह छ ।’’

उहाँले सरकारले ल्याएको सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो पारित गर्नुपर्नेमा जोड दिनुभयो । 

तपाईको प्रतिक्रिया