‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक

  बैशाख २०, २०८१

काठमाडौँ, २० वैशाख : कवि विष्णुहरि अधिकारीको कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक गरिएको छ । गोरखा सर्जक समाजद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा समालोचक वासुदेव त्रिपाठी, डा. बमबहादुर जितालीलगायतले कवि अधिकारीको कवितासङ्ग्रह र गोरखा–वाङ्मयको लोकार्पण भएको हो  । 

समालोचक वासुदेव त्रिपाठीले गोरखा–वाङ्मय र बादलमुनिका बस्तीहरूलगायतका सिर्जनाले नेपाली साहित्य भण्डारलाई बलियो बनाउन योगदान दिने बताउनुभयो । डा. नवराज कट्टेलले आख्यानात्मक सो वाङ्मयमा ४० वटा लेख रचनाले साहित्य, संस्मरण र जीवन र जगत्का विविध पक्षलाई उजागर गरेको चर्चा गर्नुभयो । समीक्षक रश्मि भट्टले ‘बादलमुनिका बस्तीहरू’ कवितासङ्ग्रहमा सर्जक विष्णुहरि अधिकारीले आफ्नो जागिरे जीवनमा लेखेर राख्नुभएको कविताको सँगालोभित्र अनेकौँ भोगाइका झलक भेटिएको बताउनुभयो । 

गोरखा–वाङ्मयका सम्पादक सुरेशकुमार भट्टले गोरखा सर्जक समाज संस्थाको गतिविधिलाई दीर्घकालीन बनाउन आजीवन सदस्य सङ्ख्या बढाउँदै आर्थिक रकम सङ्कलन गरी अक्षयकोषको स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया