हमासलाई ४० दिने युद्धविरामको प्रस्ताव : बेलायती विदेशमन्त्री

  बैशाख १७, २०८१

रियाद, १७ वैशाख : प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र ‘सम्भावित हजारौं’ प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले बताउनुभएको छ ।

मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकू समूहलाई ४० दिनको युद्धविराम र बन्धकहरूको रिहाईको बदलामा हजारौं प्यालेस्टिनी कैदीहरूको रिहाई गरिने प्रस्ताव गरिएको बताउनुभयो ।

हमासको एक प्रतिनिधिमण्डल सोमबार इजिप्ट जाँदैछ । यसले गाजामा युद्धविराम र लगभग सात महिनाको युद्धपछि बन्धकहरूको रिहाईको लागि पछिल्लो प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको छ ।

“हमासले यो सम्झौताका लागि सहमति दिनेछ र स्पष्ट रूपमा भन्नुपर्दा विश्वमा सबै दबाब र नजर आज उनीहरूमाथि हुनुपर्दछ जसले गर्दा उनीहरूले सम्झौताका लागि तयार हुनेछन्,” उहाँले भन्नुभयो । “यो प्रस्तावले हामी सवैका आखामा अप्रिय ‘लडाईमा रोक लगाउनेछ,” उहाँले भन्नुभयो ।

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच भएको सम्झौतामा मध्यस्थता गर्ने प्रयास महिनौंदेखि गरिरहेका छन् । पछिल्ला दिनहरूमा कूटनीतिको उतारचढावले शत्रुतालाई रोक्ने दिशामा नयाँ धक्का दिएको देखिन्छ ।

बेलायती विदेशमन्त्रीले भन्नुभयो, “इजरायलसँग सहअस्तित्वमा रहेको स्वतन्त्र प्यालेस्टाइन दुई राज्य समाधानका लागि राजनीतिक क्षितिजको रेखा प्रस्तावमा सुनिश्चित गरिएको छ ।”

उहाँले भन्नुभयो, “हामीले प्यालेस्टिनी जनताको राजनीतिक भविष्य हेर्नुपर्छ, तर हामीले इजरायलका लागि सुरक्षा पनि हेर्नुपर्छ अर्थात् यी दुई कुरा सँगसँगै जानुपर्छ ।” (रासस/एएफपी)

तपाईको प्रतिक्रिया