चलचित्र माइतीघरका अभिनेता सिपी लोहनीको निधन

  बैशाख १७, २०८१

काठमाडौँ, १७ वैशाख : निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौँमा निधन भएको छ ।

अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उहाँको निधन भएको भतिज एवं पत्रकार विकासप्रसाद लोहनीले जानकारी दिनुभयो ।

गीतसङ्गीत क्षेत्रमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गर्नुभएको थियो । उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीमा रहनुभएको थियो ।

वास्तविक नाम चिदम्बरप्रसाद लोहनी भएपनि छोटकरीमा सिपी लोहनीका नाममा चलचित्र तथा गीतसङ्गीत क्षेत्रमा उहाँ परिचित हुनुहन्थ्यो । माइतीघर चलचित्रका अभिनेत्री माला सिन्हासँग विवाह गर्नुभएका स्वर्गीय लोहनीको एक छोरी हाल संयुक्त राज्य अमेरिकामा रहनुभएको पत्रकार लोहनीले जानकारी दिनुभयो । लोहनीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने परिवारले जनाइएको छ ।

तपाईको प्रतिक्रिया