मुलुकको आवश्यकताअनुसार १६ औँ योजनाको लक्ष्य निर्धारण गरिएको छ : उपाध्यक्ष श्रेष्ठ

  बैशाख १७, २०८१

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकतालाई पहिचान गरेर १६ औँ योजनाको लक्ष्य र कार्यक्रम निर्धारण गरिएको बताउनुभएको छ ।

लगानी सम्मेलनको दोस्रो दिन आयोजित ‘हार्नेसिङ ग्रीन फाइनान्स फर सस्टेनेबल इन्भेस्टमेन्ट’ सत्रलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा उत्तिकै प्राथमिकता दिइएको बताउनुभयो । लगानीका विभिन्न सम्भाव्य क्षेत्रमध्ये ऊर्जा क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको र सोहीअनुसारको कार्यक्रमसमेत तय गरिएको उहाँको कथन छ । 

लगानी विस्तार गर्नुपर्ने प्रमुख क्षेत्रका रुपमा कृषि रहेको र त्यसलाई आधुनिकीकरण गर्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले आधुनिक खेती प्रणालीका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध जरुरी रहेको बताउनुभयो । वन क्षेत्रलाई बहुआयामिकरुपमा संरक्षण गर्ने र आर्थिकोपार्जनका लागि प्रयोग गर्ने सोचका साथ सरकारले कार्यक्रम तय गरेको जानकारी दिँदै उपाध्यक्ष डा.श्रेष्ठले वनलाई समृद्धिको आधार बनाइएको तथ्य पेस गर्नुभयो । 

लगानीको क्षेत्रको चर्चा गर्ने क्रममा उपाध्यक्ष श्रेष्ठले खानेपानी क्षेत्र पनि उल्लेख गर्नुभयो । उहाँले नेपालको कञ्चन पानीमा लगानीका लागि विदेशी लगानीकर्तालाई आह्वान गर्नुभयो । हिमनदीको पानी प्रशोधन गरेर बिक्री गर्न सकिने जानकारी दिँदै उहाँले पानी पनि निर्यातयोग्य वस्तुकारुपमा हो भन्दै चर्चा गर्नुभयो । वातावरण संरक्षणका क्षेत्रमा नेपालले गरेको प्रगतिका आधारमा ग्रीन फाइनान्स तथा कार्बन न्यूनीकरणमा पुर्याएको योगदानबापत थप सहुलियत पाउनुपर्ने बताउनुभयो ।

दिगो विकासका लागि नेपालले गरेको सार्थक प्रयासको लाभ नेपालले मात्रै प्राप्त गर्ने नभई संसारभरले नै उपभोग गर्न पाउने र समग्र पृथ्वीको हितका लागि नै हुने मर्मलाई आत्मसात गर्न पनि उपाध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो । सो सत्रमा अर्थसचिव मधुकुमार मरासिनी, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष आशिष गर्गलगायतले हरित अर्थतन्त्र र त्यसका आयामबारे जानकारी गराउनुभएको थियो । (रासस)

तपाईको प्रतिक्रिया