चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

  बैशाख १३, २०८१

बेदकोट (कञ्चनपुर), १३ वैशाख : कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आउनुभएको छ ।

तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहनुहुन्छ । चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा हुनुहुन्छ । “चित्र कोर्ने सानैदेखिको सोख हो । तस्बिर हेरेर त्यसको ‘स्केच’ बनाउने र ‘पेन्टिङ’ गर्छु । अहिले यसबाट थोरै आम्दानी पनि हुन थालेको छ”, उहाँले भन्नुभयो, “पढाइलाई पनि सँगै अगाडि बढाएकी छुँ । कलेजमा व्यतीत हुने समयबाहेक फुर्सदमा चित्र कोर्छु ।”

तस्बिर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट रु दुई सयदेखि दुई सय ५० सम्म पाइने गरेको छ । पढाइसँगै फुर्सदको समयमा चित्र कोरेर हुने आम्दानीले अध्ययनका साथै घरखर्च जोहो गर्न सहजता भएको निर्मलाको भनाइ छ । निर्मलाका आमाबुबासहित छ सदस्यीय परिवार छ । उहाँ जेठी छोरी हो । आमाबुबा सुन्दरीफाँटामै खेती गर्नुहुन्छ । यहाँ निर्मलाको १५ कट्ठा जमिन पनि छ ।

“परिवारको आर्थिक अवस्थाले नधानेर माइली बहिनीले पढाइ छोडिन् । अहिले पसलमा काम गर्छिन् । अरु हामीहरु जेनतेन अध्ययन गरिरहेका छौँ”, निर्मलाले तीन बहिनीका समस्या सुनाउँदै भन्नुभयो, “चित्रबाट प्राप्त हुने सीमित रकमले जेनतेन अध्ययन खर्च चलेको छ ।” पछिल्लो समय अत्याधुनिक प्रविधिको प्रयोग हुँदा चित्रकारले काम पाउन कठिन भएको उहाँको गुनासो छ । “काम पाइएको बेला राम्रै आम्दानी हुन्छ । प्रविधिले गर्दा आजभोलि काम पाउन मुस्किल छ”, उहाँले भन्नुभयो ।

विसं २०७५ मा उहाँले चित्र बनाउने र पेन्टिङको तालिम लिनुभएको थियो । चित्रकलामा महिलाको उपस्थिति नगन्य छ । जिल्लाभर चार–पाँच महिला मात्रै व्यावसायिक रुपमा चित्रकलामा आबद्ध रहेका नेपाल कमर्सियल आर्टिस्ट सङ्घका सल्लाहकार सुरेश पथिकले बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया