फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रदर्शनी

  बैशाख ११, २०८१

काठमाडौँ, ११ वैशाख : मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा हुनुहुन्छ । 

यस अवसरमा उहाँ युरोपका चार देशको भ्रमण गर्नु हुनेछ । तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई आमन्त्रण गरेको छ । 

नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा ‘नेपाल डे’ मनाउँदै आएको छ । त्यस अवसरमा चित्रकार यादवका २४ वटा चित्रहरू प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रूपान्तरणमा आफ्ना चित्रको प्रभावबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवर्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कूटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गर्नुभयो ।

राजदूत खड्काले जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको बताउनुभयो । नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट आएका करिब दुईसय पचास जना नेपाली र जर्मन नागरिकहरू कार्यक्रममा सहभागी रहनुभएको थियो ।

चित्रकार यादवको एकल चित्रकला प्रदर्शनीलाई गम्भीरतापूर्वक उहाँहरूले अवलोकन गरेका गर्नुभएको थियो । अध्यक्ष अधिकारीले नेपाली समाजले फ्रयान्कफर्टमा नेपाल डे आयोजना गरेर नेपालबारे जर्मनीमा प्रचारप्रसार गर्नुका साथै दुई देशका नागरिकलाई जोड्ने काम गरेको बताउनुभयो । 

त्यस अवसरमा उहाँले राजदूत खड्का, चित्रकार यादव, फ्रयान्कफर्ट सहरको मेयर कार्यालयका प्रमुखलगायतका विशिष्ट व्यक्तिलाई धन्यवाद दिनुभयो । नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारले गीत, सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए । एक जना बलिउड कलाकारले एउटा नेपाली गीतमा नृत्य गर्नुभएको थियो । 

त्यस अवसरमा जर्मनीमा बस्ने नेपाली बालबालिका लागि नेपाल चिनाउने कार्यक्रम पनि राखिएको थियो । अतिथि र सहभागीलाई परम्परागत नेपाली खानाका परिकारले स्वागत गरिएको थियो । 

तपाईको प्रतिक्रिया