‘चरैवेति’ उपन्यास सार्वजनिक

  बैशाख ०९, २०८१

काठमाडौँ, ९ वैशाख : उपप्राध्यापक जीवन जीवन्तको ‘चरैवेति’ उपन्यास सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, भुवनहरि सिग्देल, डा. अशोक थापा र उपप्राध्यापक सुमन वर्षाले चरैवेतिको लोकार्पण गर्नुभएको हो । 

साहित्यकार नयनराज पाण्डेले उपन्यास ‘चरैवेति’ ले नौलो विषयको उठान गर्दै धर्म परिवर्तनको वातावरणलाई समालोचनात्मक ढङ्गले पस्केको बताउनुभयो । उहाँले  धर्मको विश्लेषणात्मक निन्दा तथा प्रशंसा गर्न व्यक्तिमा निकै हिम्मतको खाँचो हुन्छ भन्दै पुस्तकमा लेखक जीवन्तले आफ्ना हजुरबुवाले पनि धर्म परिवर्तन गरेको अवस्था र पारिवारिक वातावरण उल्लेख गरेको  बताउनुभयो ।

डा. अशोक थापाले पुस्तकमा मानिसको जीवनमा जुनसुकै आवश्यकता, समस्यालगायतले बाधा अडचन दिए पनि निरन्तर अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो । उपप्राध्यापक सुमन वर्षाले ‘चरैवेति’ का पात्रको हुलिया, परिचयबारे कतै उल्लेख नहुँदा पाठकले उपन्यासका पात्रबारे साक्षात्कार गर्न नपाएको बताउनुभयो । 

पेज टर्नरका अध्यक्ष एवं आख्यानकार भुवनहरित सिग्देलले उपन्यासले पाठकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । लेखक जीवन जीवन्तले भन्नुभयो, “धर्म परिवर्तन गर्नु राम्रो वा नराम्रो भन्नुभन्दा पनि आफूले अनुसरण गर्ने धर्मको अर्थ र सन्देश बुझ्नु पर्छ । यही कोसिस ‘चरैवेति’ मा गरिएको छ ।

तपाईको प्रतिक्रिया