विश्व बैङ्कद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

  बैशाख ०७, २०८१

इस्लामाबाद, ७ वैशाख : विश्व बैङ्कले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको पाकिस्तानस्थित एआरवाई न्युजले जनाएको छ ।

पाकिस्तानबारे जारी गरेको रिपोर्टमा बैङ्कले पाकिस्तानी सरकारलाई आर्थिक र सामाजिक सुधारका लागि तत्काल कर प्रणाली सुधार तथा बिक्री कर छुट हटाउन आवश्यक सल्लाह दिएको एआरवाई न्युजको रिपोर्टले जनाएको छ ।

प्रतिवेदन अनुसार बैङ्कले सरकारलाई बाल विकासका लागि राष्ट्रिय नीति बनाउन आग्रह गर्दै ऊर्जा र अन्य वस्तुमा अनुदान घटाउन आह्वान गरेको छ । साथै बैङ्कले सरकारलाई यी कोषहरू जनकल्याणका पहलहरूमा पुनः बाँडफाँट गर्नसमेत सुझाव दिएको छ ।

बैङ्कले सरकारलाई मितव्ययिताका उपायहरू अवलम्बन गरी सरकारी स्वामित्वका कम्पनीहरूमा सार्वजनिक–निजी साझेदारीलाई बढवा दिनुपर्ने आग्रह गरेको एआरवाई न्युजको रिपोर्ट जनाएको छ । 

प्रतिवेदनमा बैङ्कले पाकिस्तानलाई कर प्रणालीको पुनर्गठन, शुल्क र बिक्री करको छुट नियन्त्रण र अचल सम्पत्ति तथा कृषि उद्योगमा नयाँ कर लगाउन आग्रह गरेको छ । यसैगरी दीर्घकालीन व्यावसायिक योजना सिर्जना गरी उपभोक्ताहरूका लागि ग्यास आपूर्ति लागतसँग समायोजन गर्न पनि बैङ्कले आह्वान गरेको छ ।

सन् २०२३ मा विश्व बैङ्कले पाकिस्तानले आफ्नो वास्तविक क्षमताभन्दा कम कर सङ्कलन गरिरहेको बताएको थियो । बैङ्कको प्रतिवेदनमा पाकिस्तानमा कर सङ्कलनमा सात खर्ब ३७ अर्ब रुपियाँ (पाकिस्तानी रुपियाँ) ले कम भएको उल्लेख गर्दै ऋणको बोझ मुक्त गर्न सबै कर छुट समाप्त गर्न इस्लामाबादलाई आग्रह गरिएको छ । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया