गठबन्धनबाट एकीकृत समाजवादीका सोडारीको दाबी पेस

  बैशाख ०६, २०८१

धनगढी, ६ वैशाख : सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरण दलबाट  मुख्यमन्त्रीमा नेकपा (एस) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गर्नुभएको छ ।  

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधार (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दाबी गर्न दिनुभएको समयसीमाअनुसार सोडारीले बिहीबार मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो । 

सङ्घीय समीकरणमा रहेका दल एमाले १०, माओवादी १०, समाजवादी चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री दाबी गर्नुभएको हो ।

सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा (एमाले) ले निर्णयमा ढिलाइ गर्दा बुधबार र बिहीबार बिहानसम्म मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत हुन सकेको थिएन । एमालेले एकीकृत समाजवादीका  सोडारीलाई मुख्यमन्त्री बनाउन तयार भएपछि उहाँले दाबी पेस गर्नुभएको छ । 

प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्ति पार्टीकै दुईवटा दाबेदारीले मुख्यमन्त्री नियुक्तिमा निष्कर्षमा पुग्न नसकेको बताउँदै वैशाख ४ गते दोस्रो पटक मुख्यमन्त्रीको दाबीका लागि आव्हान गर्नुभएको थियो। 

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा गर्नुभयो । त्यसपछि चैत २३ गते प्रदेश प्रमुख मियाँले संविधानअनुसार दुई वा दुई भन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दाबेदारी गर्न १० दिनको समयसीमा दिनुभएको थियो ।

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्नुका लागि २७ जना प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । अर्कोतिर नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्तिका पाँच र राप्रपाका एक जना रहेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । बझाङ प्रदेश सभा (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि प्रदेश सभामा हाल ५२ जना सदस्य छन् । सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुन गइरहेको गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया