राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त

  बैशाख ०६, २०८१

काठमाडौँ, ६ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।

राया महालेखा परीक्षकमा नियुक्त
यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया