नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

  बैशाख ०५, २०८१

याङ्गुन, ५ वैशाख : जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बुधबार बताएका छन् ।

भ्रष्टाचारदेखि कोभिड –१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता सुकीले २७ वर्षको कारागार सजाय काटिरहनुभएको छ । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सुकीलाई धेरै हदसम्म नजरबाट लुकाइएको थियो र उहाँ स्वास्थ्य समस्याले ग्रस्त हुनुभएको बताइएको छ।  

नाम उल्लेख नगर्ने शर्तमा एक सैन्य अधिकारीले सुकी र पूर्व राष्ट्रपति विन मिन्टलाई कारागारबाट घरमा नजरबन्द गरिएको बताउनुभयो । जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण अधिकारीहरूलाई कमजोर बन्दीहरूको सुरक्षा उपाय अपनाउन प्रेरित गरेको बताउनुभयो । 

“डा आङ सान सुकी र यु विन मिन्टलाई मात्र नभएर केही पुराना कैदीहरूलाई पनि तातो मौसमका कारण आवश्यक हेरचाह गरिएको थियो” उहाँले भन्नुभयो । राजधानी नेपिडाउमा तापक्रम बुधबार ४१ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरिएको छ र आगामी सातामा मौसम अझ तातो हुने अनुमान छ । नेपिडाउमा सुकीलाई विशेषरूपमा निर्मित परिसरमा हिरासतमा राखिएको मानिन्छ । 

मुलुकको नयाँ वर्षको उत्सव मनाउन नियमित आममाफीको एक भागका रूपमा तीन हजार तीनसय कैदीलाई रिहा गरिने जुन्ताले बुधबार घोषणा गरेको छ । याङ्गुनको इनसेन कारागारबाहिर करिब दुई सयदेखि तीनसय आफन्त र साथीहरू कैदीहरूको स्वागतका लागि प्रतीक्षा गरिरहेका थिए । (रासस)

तपाईको प्रतिक्रिया