सुहाङलाई जिताउन अध्यक्ष ओलीको अपिल

  बैशाख ०५, २०८१

मङ्लगबारे (इलाम), २ वैशाख : इलाम क्षेत्र नम्बर २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो अपिल गर्नुभएको हो । नेकपा (एमाले) का यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो ।

स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उहाँका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गर्नुभयो । इलाम क्षेत्र नम्बर २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्ने उहाँको भनाइ थियो । नेकपा (एमाले) ले घर-घरमा वृद्धभत्ता पुर्‍याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको पनि उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा दुई सय १० पालिकादेखि सदरमुकाम जोड्ने सडक र तीनसय ९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन् । अब अधुरा र अलपत्र कामहरूलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ ।”

एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खलबल्याउने धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने ‘एजेन्डा’ पूरा गर्नका लागि पनि वामपन्थीहरूका साझा उम्मेदवार सुहाङलाई विजयी गराउनुपर्ने बताउनुभयो । 

सो सभामा उम्मेदवार नेम्वाङले आफूले जितेको खण्डमा इलाम क्षेत्र नम्बर २ को विकास गर्ने र यहाँका नागरिकले शिर झुकाउनुपर्ने कुनै काम नगर्ने बताउनुभयो । उहाँले यही वैशाख १५ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न अपिल गर्नुभयो । यस क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एमालेका सुहाङसँगै नेपाली कांग्रेसका इलाम सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) उम्मेदवार रहेका छन् । (रासस)

तपाईको प्रतिक्रिया