सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली

  बैशाख ०४, २०८१

झापा, ४ वैशाख : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताउनुभएको छ । झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले अहिले मुलुकमा देशभक्त राजनीतिक शक्तिहरुको समीकरण बनेको हुँदा यसलाई टिकाएर लैजान आफ्नो पार्टी प्रतिबद्धता रहेको छ भन्नुभयो ।

“हामीले पुरानो गठबन्धन भत्काउनै पथ्र्यो, भत्कायौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “नयाँ समीकरण बनाउनै पथ्र्यो, बनायौँ । धेरैले अर्थ मन्त्रालय छाडिदियो, गृह मन्त्रालय पनि छाडिदियो भने । कुन मन्त्रालय लियो र कुन लिएन भन्ने महत्वको विषय होइन, हाम्रो सरकार छ भन्ने कुरा महत्वपूर्ण हो । अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो ।”

उहाँले देशभक्तहरुको समीकरण भत्काउनका लागि विभिन्न शक्तिहरुले निरन्तर षड्यन्त्र गरिरहेको दावी गर्नुभयो । लामो राजनीतिक अनुभव र जिम्मेवार अभिभावक शक्तिको कारण एमालेले अहिलेको सत्ता समीकरणलाई देश र जनताको हितमा अघि बढाउने उहाँको भनाइ छ ।

उहाँले अहिलेको सत्ता समीकरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहसिक निर्णय लिएको बताउनुभयो । एमालेले घोषणा गरेको ‘मिसन–८४’ राजनीतिक सुझबुझपूर्ण गन्तव्य भएको जनाउँदै उहाँले देश र जनताको हितका लागि पार्टीले चुनावमा विजय हासिल गर्न जरुरी भएको धारणासमेत व्यक्त गर्नुभएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया