काठमाडौं, ४ वैशाख : काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा मंगलबार साँझ हल्का वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बेलुकापथ उपत्यकासहित पहाडी भूभागमा मेघ गर्जन, चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखामा मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। बादलको विकास हुनेक्रम जारी रहेकाले साँझपख चट्याङ् सहित हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।
मौसमविद् लामिछानेले भन्नुभयो, ‘अहिले देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली भएको छ। बादल विकसित भइरहेकाले साँझपख पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।’’
अहिले कोशी र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा हल्का वर्षा भइरहेको उहाँले बताउनुभयो ।
प्रि मनसुनको समय भएकाले बिहानीपख मौसम राम्रो भएपनि साँझपख भने मेघ, गर्जन, चट्याङ्सहित वर्षाको सम्भावना हुने उहाँको भनाइ छ ।
आगामी तीन दिन नै मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् लामिछानेको भनाइ छ ।






