रासायनिक मल उद्योग स्थापनामा लगानी गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह

  बैशाख ०४, २०८१

काठमाडौं, ४ वैशाख : राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मङ्गलबार गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवम् कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्नुहुँदै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैं उचाइमा पुर्‍याउन आगामी दिनमा संसदीय अनुभव आदानप्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

नेपालको सङ्घीय संसदले नेपाल–कोरिया संसदीय मैत्री समूह गठन गरेको जानकारी दिनुहुँदै अध्यक्ष दाहालले दुई देशको संसदीय अभ्यास र अनुभव आदान प्रदान गर्न र असल अभ्यासहरु अनुसरण गर्न दुवै देशका संसदको आपसी सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिनुभयो । संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशका संसदको सहकार्यमा थप बल पुगेको भन्दै उहाँले अझैं जनता–जनताबिचको सम्बन्धलाई सुदृढ गर्नुपर्ने बताउनुभयो ।

“संसद जनताको सरोकारसँग जोडिने संस्था भएकाले संसदहरुको सम्बन्ध सुदृढ गर्न जनताबिचको सम्बन्ध सुदृढ गर्न जरुरी छ,” अध्यक्ष दाहालले भन्नुभयो, “तपाईंहरुको नेपाल भ्रमणले हाम्रो सम्बन्ध थप घनिष्ट र सुदृढ भएको मैले महसुस गरेको छु ।”

कोइकामार्फत् कोरियन सरकारले नेपालको जलविद्युत्, कृषि, अटोमोबाइल्स लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा गर्दै अध्यक्ष दाहालले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योगको स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।

नेपाल बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथादेखि थुप्रै प्राकृतिक, सांस्कृतिक र पर्यटन सम्पदाले धनी भएको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले दुई देशको सम्बन्ध झन नजिकबाट विस्तार गर्न र पयर्टन प्रवर्द्धनमा टेवा पु–याउन सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि कोरियाली नागरिकलाई नेपाल पठाउन आग्रह गर्दै उहाँले नेपाली ध्वजावाहक जहाज काठमाडौं–सिओल सिधा उडानको व्यवस्थाका लागि पहल गर्न पनि आग्रह गर्नुभयो ।

नेपालमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै अध्यक्ष दाहालले गणतन्त्र कोरिया सरकार र निजी क्षेत्रबाट समेत नेपालमा लगानी गर्न पनि उक्त प्रतिनिधि मण्डलमार्फत् आग्रह गर्नुभयो ।

नेपाल लामो राजनीतिक सङ्घर्ष र द्वन्द्वबाट गुज्रिंदै अहिले शान्ति प्रक्रियाको अन्तिम चरणमा पुगिसकेको भन्दै उहाँले अब नेपालको उद्देश्य आर्थिक समृद्धि र विकास रहेको बताउनुभयो । उहाँले त्यसका लागि गणतन्त्र कोरिया सरकारको सहयोग नेपालीहरुका लागि निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

यसैगरी, भेटका क्रममा कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्दत गरेको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटो छरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा आफू यसअघि पनि धेरै पटक आइसकेको चर्चा गर्दै हरेक पटक आउँदा केही न केही नयाँ विकास भएको पाएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया