सिद्धार्थ आर्ट ग्यालरीमा ‘भारतको सामूहिक अभिव्यक्ति’

  बैशाख ०४, २०८१

काठमाडौँ, ४ वैशाख : तीस वर्षअगाडि रोजगारीको सिलसिलामा भारत पुग्नुभएका हेम रानाले नेपालमा ‘भारतको सामूहिक अभिव्यक्ति’को पहिलो प्रदर्शनी गरिरहनुभएको छ । गत वर्षको अन्तिममा बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु गरिएको प्रदर्शनीमा अमित कल्ला, सिआर एम्ब्राम, हिम्मत ग्यारी, एमडी सुलेमान, रवि ठाकुरलगायत १२ चित्रकारका चित्र छन् ।

रङ्गमञ्च र चित्रकलालाई मनोरञ्जनका प्रारम्भिक क्षेत्र मानिए पनि युवाको आकर्षण भने कम देखिन्छ । यद्यपि भारतमा केही वर्षयता प्रदर्शनी व्यवस्थापन गर्ने काम (क्युरेट) गरिरहनुभएका रानाले लामो प्रयासपछि नेपालमा भारतीय कलाकारका अमूर्त शैलीका चित्र प्रदर्शनी गर्न सम्भव भएको बताउनुभयो ।

“भारतमा चित्रकला प्रदर्शनी गरे पनि नेपालमा आउन समय नै लाग्यो । मलाई सिद्धार्थमै प्रदर्शनी गर्नु थियो । गत वर्षदेखि योजना बनाएर अहिले प्रदर्शनी भइरहेको छ”, रानाले भन्नुभयो, “यहाँ राखिएका चित्रले भारतीय संस्कृतिलाई व्यक्त गरेको छ । एउटा कलाकारका लागि यो प्रदर्शनीले लाभ दिनेछ ।”

आफू जन्मेको देश नेपाल र कर्म दिएको देश भारतबीच सांस्कृतिक साइनो प्रगाढ पार्न यस्ता प्रदर्शनी सहयोगी विश्वास उहाँको छ । रानाले चित्रकलामा निरन्तरता दिएमा भविष्य उज्ज्वल रहेको बताउनुभयो । “चित्र बनाउन गाह्रो छ, त्यसलाई ग्यालरीसम्म ल्याउन झन् गाह्रो तर निरन्तरता दिएमा अवश्य सफल भइन्छ । हाम्रो समूहमा केही नयाँ र केही पुराना छन्, उनीहरूको अनुभवले पनि यसलाई निरन्तरता दिन प्रेरणा दिन्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार ग्यालरीमा विभिन्न उमेरका दर्शक प्रदर्शनी अवलोकन गर्न आइरहेका छन् । यद्यपि सङ्ख्यात्मक रुपमा परिपक्क अनुहारलाई बढी देखिएको बताउनुभयो । पहिलो प्रदर्शनीमार्फत उत्साहित राना वार्षिक रुपमा एउटा प्रदर्शनी नेपालमा गर्ने तयारीमा हुनुहुन्छ ।

दुई देशको सम्बन्ध र सद्भावलाई चित्रकलाको माध्यमले बढाउन यस्ता प्रदर्शनी उपयोगी हुने कलाकार एससी सुमनले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट बाह्र जना आएर आफ्नो अभिव्यक्तिलाई चित्रकलामार्फत व्यक्त गर्नुभएको छ । यसले कला र संस्कृतिलाई आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । निकट भविष्यमा हामी पनि नेपाली कलाकार लगेर भारतमा प्रदर्शनी गर्ने तयारीमा छौँ ।”

पछिल्लो समय नेपालमा चित्रकलामा सम्भावना देखिएको उहाँको विश्लेषण छ । गत वर्ष विसं २०८० मा भएका गतिविधिले यस वर्ष निरन्तरता पाउने मात्र नभई बृहत् रुप लिने उहाँको विश्वास छ ।

“गत वर्ष नेपालका सातै प्रदेशमा भएको प्रदर्शनीले स्थानीय चित्रकलालाई अगाडि आउन मद्दत गर्‍यो । अहिले प्रदर्शनी बढिरहेका छन्, यसले कलाकारलाई ग्यालरीसम्म ल्याउन ठूलो मद्दत गरेको छ”, कलाकार सुमनले भन्नुभयो । गत चैत २७ गतेदेखि सुरु भएको प्रदर्शनी यही वैशाख १० गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया