अन्तर्राष्ट्रिय समितिको बैठकको स्थगित

  बैशाख ०४, २०८१

काठमाडौं, ४ वैशाख : निर्धारित समयमा बैठक सुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मङ्गलबार बिहान १०ः३० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसकेपनि सांसदहरुको लापरवाहीले बैठक बस्ने नसकेको हो ।

सांसदहरु तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि पुग्न नसकेपछि बैठक स्थगित गरिएको हो । बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्नेमा आठ जनामात्रै भएपछि मन्त्री श्रेष्ठ समितिको बैठकबाट बाहिरिनुभएको थियो । मन्त्री श्रेष्ठपछि मन्त्रालयका सचिव र कर्मचारी पनि बैठक छोडेर बाहिरिएका थिए । समितिका सभापतिसहितका सांसदहरुले समयको ख्याल नगर्दा बैठक स्थगित भएको हो ।

समितिको आजको बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरुको विवरण (उद्देश्य एवम् उपलब्धिसहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरुको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरु) का बारेमा छलफल हुने कार्यक्रम रहेको थियो ।

तपाईको प्रतिक्रिया