म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते

  बैशाख ०३, २०८१

याङ्गुन (म्यान्मा), ३ वैशाख : मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार जनाएको छ ।

माण्डाले क्षेत्रको पिन ऊ ल्विन सहरमा आइतबार राति आक्रमणकारीहरूले सहरलाई निशाना बनाई ११ वटा रकेट प्रहार गरेका थिए । पिन ऊ ल्विन जनरल अस्पतालको अर्थोपेडिक वार्ड, होटलसहित धेरै ठाउँमा हमला भएको सूचना टोलीले जनाएको छ ।

गुम्बामा भएको आक्रमणका कारण दुई बौद्ध भिक्षुसहित तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । यसैगरी आक्रमणमा पिन ऊ ल्विनको वार्डका एक स्थानीय बासिन्दाको पनि मृत्यु भएको छ ।

पिन ऊ ल्विन जनरल अस्पतालमा भएको आक्रमणका घाइते बालबालिका, बिरामी र कर्मचारीसहित ११ जनाको उपचार भइरहेको बताइएको छ ।

परम्परागत थिङ्गयान वाटर फेस्टिभलका क्रममा गैर–सैन्य लक्ष्यहरूमा भएका आक्रमणहरू सार्वजनिक शान्ति र स्थिरतामा खलल पुर्‍याउने उद्देश्यले आतङ्ककारीहरूले गरेको कार्यहरू भएको बताइएको छ ।

सुरक्षा बलले अपराधीहरूलाई पत्ता लगाउन र पक्राउ गर्न सुरक्षा व्यवस्था कडा गरिरहेको सूचना टोलीले जनाएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया