हिमालको अवस्था चित्रकलामा

  बैशाख ०३, २०८१

काठमाडौँ, ३ वैशाख : नेपालको पहिचान, पर्यटन र स्वच्छ खानेपानीको स्रोत हिमालको अवस्थाबारे जनचेतनामूलक ‘हिमालयको रहस्य र सिर्जनावृत्ति’ नामक चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) द्वारा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हिमालसँग नेपालको पहिचान नै जोडिएको चर्चा गर्दै स्वच्छ पानीको स्रोत हिमालमा जलवायु परिवर्तनको असरले हिउँ छिटो पग्लने, हिउँ नै कम पर्ने समस्या बढेका सन्देश प्रदर्शनीमा राखिएका चित्रहरूले दिएको बताउनुभयो । 

उहाँले पानीसँग जीवन जोडिन्छ, मानव, प्राणीका लागि आवश्यक पानीको स्रोत सुक्दा वा कम हुँदा दिगो विकासको लक्ष्यसमेत पूरा नहुने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले स्वच्छ पानीको स्रोतका रूपमा रहेका नेपालका हिमालमा बढ्दो तापक्रमका कारण चुनौती थपिँदै गएको बताउनुभयो । 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले नेपालले संयुक्त राष्ट्रसङ्घमा समेत जलवायु परिवर्तनले हिमालको हिउँ पग्लिने गति बढेको विषयमा चर्चा गराउन सफल भएको र हिमालको रहस्य विषयका सिर्जना सङ्कलन गरी प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । प्रदर्शनीमा भीमबहादुर श्रेष्ठको एभरेस्ट बेस क्याम्प, अनिता भट्टराईको हिमाल, तिलिचो तालमा याकको यात्रा, बिआर श्रेष्ठको मनासलु हिमाल र पर्वतारोही, लीलाधर केसीको तापमान वृद्धिले हिमाललाई पारेको प्रभाव दिने सन्देशका चित्रकला छन् । 

हिमालको रहस्य चित्रकला प्रदर्शनीमा सगरमाथा, माछापुच्छ«े, अमादब्लम, कुम्भकर्ण हिमाल, कञ्चनजङ्घा, सिस्ने हिमाललगायतका थुप्रै हिमाल, त्यस वरपरका परिवेशसहित विविध विषयका चित्र राखिएका छन् । कलाकार केशवराज खनालको संयोजनमा उसिना महर्जन, छिरिङ फुन्जो गुरुङ, छेतेन शेर्पा, सुषमा श्रेष्ठ, सुस्मिता कुँवर, नीमबहादुर तामाङलगायतका ७४ जना कलाकारका हिमाल, जनजीवन, जलवायु परिवर्तनको प्रभावबारे सन्देश दिने चित्रकला राखिएका छन् । प्रदर्शनी वैशाख ७ सम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया