आइओएफटिसी नेपाल स्थापना

  बैशाख ०३, २०८१

काठमाडौँ, ३ वैशाख : अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगी संस्थाको रूपमा आइओएफटिसी नेपाल स्थापना भएको छ ।

पाटनको सौगलस्थिल यलमुल गार्डेनमा आयोजित एक कार्यक्रममा आइओएफटिसी नेपाल २०२४ गठन भएको जानकारी दिइएको छ । आइओएफटिसी प्रधान कार्यालयका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले आइओएफटिसी नेपाल २०२४ टिमका पदाधिकारी तथा सदस्यलाई स्वागत गर्नुभयो । आइओएफटिस नेपालको अध्यक्षमा मीनप्रसाद खनाल हुनुहुन्छ । 

यसैगरी उपाध्यक्षमा राजमन्दिर श्रेष्ठ, सचिवमा गिरीबहादुर सुनार, कोषाध्यक्षमा रिकेश महर्जन रहनुभएको छ । सदस्यहरूमा सहदेव श्रेष्ठ, शिलकुमारी महर्जन र भवानी बजगाईँ हुनुहुन्छ । ग्रान्डमास्टर महर्जनले नयाँ टिमलाई शुभकामना दिँदै आइओएफटिसी नेपालले खेल क्षेत्र तथा खेल पर्यटन प्रवर्द्धनसँगै, कलासंस्कृतिको जगेर्ना र उत्थानमा काम गर्ने भनी राखेको उद्देश्य सफल होस् भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘आइओएफटिसी नेपालले प्रमुख रूपमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप नेपालमा आयोजना हुँदा अथवा सो प्रतियोगिता नेपालबाहिर हुँदा नेपालमा हुने छनोट प्रतियोगितामा आयोजकको भूमिका निर्वाह पनि गर्नेछ ।’’

आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ । 

महर्जनले आगामी अगस्टमा दक्षिण कोरियाको सोलमा १४औँ संस्करण हुने र यस प्रतियोगितामा खेल्ने राष्ट्रिय खुला फ्रेन्डसीप तेक्वान्दो प्रतियोगिताबाट छ खेलाडीको चयन भइसकेको जानकारी पनि दिनुभयो । राष्ट्रिय खुला फ्रेन्डसीप तेक्वान्दो प्रतियोगिता गत शनिबार राखेपमा सम्पन्न भएको हो ।

यसैगरी आइओएफटिसी नेपालका सचिव सुनारले आइओएफटिसी नेपाल २०२४ गैर नापफा मूलक संस्था हो भन्नुभयो । यसैगरी आइओएफटिसी प्रधान कार्यालयको तर्फबाट ग्रान्डमास्टर महर्जनले आइओएफटिसीद्वारा उपलब्ध गराइएको खेल सामग्री आइओएफटिसी नेपाललाई हस्तान्तरण पनि गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया