नयाँ वर्षमा अन्तुसहितका पर्यटकीय क्षेत्र भरिभराउ

  बैशाख ०१, २०८१

फिक्कल (इलाम), १ वैशाख : नयाँ वर्षका अवसरमा आज इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीय क्षेत्र अन्तुसहितका यहाँका पर्यटकी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् ।

पर्यटकीय क्षेत्र अन्तु, कन्याम, फिक्कल, पशुपतिनगरलगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो । सूर्योदय नगरपालिकाले शुक्रबारदेखि आयोजना गरेको ‘अन्तु पर्यटन महोत्सव’का कारण पनि अन्तुमा आन्तरिक र बाह्य पर्यटकलाई तानेको हो ।

सूर्योदयको दृश्यावलोकन गर्नका लागि शुक्रबारदेखि नै पर्यटक अन्तुडाँडा पुगेका थिए । शनिबार बिहानसमेत त्यस क्षेत्रमा पिकनिक खान, कार्यक्रम गर्न तथा घुमघामका लागि ठूलै सङ्ख्यामा पर्यटक पुगेका छन् । विगतका वर्षहरुभन्दा यो वर्ष आन्तरिक पर्यटकको चहलपहल धेरै देखिएको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताउनुभयो ।

अन्तुमा महोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिको थियो । महोत्सवमा लोपोन्मुख लाप्चा जातिको वेषभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, ‘सूर्योदय आइडल’ को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रम गरिएको थियो । त्यस्तै स्थानीय महिलाले उत्पादन गरेका कृषिजन्य वस्तुका उत्पादनसहित खानाका परिकार तथा हस्तकलाका सामग्री प्रदर्शन गरिएको थियो ।

महोत्सवकै अवसरमा नेपाल पत्रकार महासङ्घ इलाम शाखाले शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण समारोह अन्तुमा नै आयोजन ग¥यो । महासङ्घ इलामले रु १० हजार राशिको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट बिक्रम सुन्दास (तिलबिक्रम दर्जी) र सोही राशिको ‘क्रियाशील पत्रकार महिला पुरस्कार’ बाट मातृभाषी पत्रकार रीता राराहाङलाई पुरस्कृत ग¥यो ।

महोत्सवमा राखिएका प्रदर्शनी कक्षसँगै सूर्योदयको दृश्यावलोकन, अन्तुपोखरी, हरियाली चियाबारी, चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोतसाधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृतिले पर्यटकको मन तानेको थियो ।

आज मात्र करिब १० हजारको सङ्ख्यामा पर्टक अन्तु पुगेको बताइएको छ । यतिबेला अन्तुका प्राय सबै रिसोर्ट, होटल, कटेज र घरवासहरु पर्यटकले भरिभराउ छन् । अग्रिम बुकिङ नगरेका बाहेकलाई बस्ने ठाउँ नै पाउन मुस्किल हुने गरी पर्यटकले भरिभराउ हुने गरेको सङ्घका अध्यक्ष घिमिरेले बताउनुभयो ।

“यहाँ ७० वटा होटल, रिसोर्ट र कटेज तथा ४० वटा घरवास छन् । ती सबै पर्यटकले भरिभराउ छ”, घिमिरेले रासससँग भन्नुभयो, “सबैभन्दा धेरै शनिबार पर्यटकको घुइँचो लाग्ने गरेको छ, आज पनि बेलुका बास बस्ने व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो ।” अन्तुडाँडाबाट सूर्योदयसँगै कञ्चनजङ्गा र भारतीय पर्यटकीय सहर दार्जिलिङ, खसार्ङ, मिरिक देख्न सकिन्छ । यहाँ नेपाल, भारत तथा तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन् ।

यातायातको सुविधाका कारण धेरै पर्यटक एक रात बस्नकै लागि भए पनि अन्तु पुग्ने गरेका छन् । अन्तुसम्म पुग्न मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी सञ्चालनमा आएपछि पर्यटकलाई थप सहजता मिलेको छ । सूर्योदय नगरपालिकाको प्रशासनिक केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर पक्की सडकको यात्रापछि अन्तु पुग्न सकिन्छ ।

अन्तुमा सञ्चालित होमस्टेमा स्थानीयस्तरमा उत्पादित अर्गानिक खानाका परिकारहरु एवं सिजन अनुसारका फलफूल खान पाइने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् । क्षणभरमै मौसम परिवर्तन हुने विशेषता रहेको अन्तुमा परिवर्तनशील मौसमले पर्यटकको मन लोभ्याने गर्दछ ।

सूर्योदयको दृश्यावलोकन गर्न नगरपालिकाले प्रतिव्यक्ति रु ५० शुल्क तोकेको छ । पर्यटकलाई शुल्क तोकेर नगरपालिकाले अन्तुलाई आम्दानीको स्रोतको माध्यम बनाएको छ । त्यहाँबाट प्राप्त स्रोत नगरपालिकाले अन्तुकै विकासमा खर्चेको छ । भ्यूटावर मर्मतसम्भार र पर्यटकलाई सहजताका लागि भौतिक पूर्वाधार निर्माणको काममा नगरपालिकाले खर्च गरिरहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया