लेखनाथ हाफ म्याराथन : सेनाका सञ्जयलाई उपाधि

  बैशाख ०१, २०८१

कास्की, १ वैशाख : नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ ।

दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जित्नुभयो । श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद रु ६० हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।

यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो हुनुभयो । उहाँले एक घण्टा छ मिनेट ३३ सेकेण्डमा दौड पूरा गर्नुभयो । उपविजेता बोगटीले नगद रु ३० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।

पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले एक घण्टा नौ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो हुनुभयो । उहाँले रु २० हजार पुरस्कार पाउनुभयो । सशस्त्रका खिमबहादुर खत्रीले एक घण्टा नौ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले एक घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ हुनुभयो । उहाँहरूले क्रमशः रु १० हजार रु पाँच हजार पुरस्कार पाउनुभएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिनुभयो ।

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गर्नुभएका चेतनाथ चालिसे पोखरा च्याम्पियन बन्नुभयो । चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३४ मिनेटमा पूरा गरेका गर्नुभयो । चालिसे पोखरा–१७ बिरौटा निवासी हुनुहुन्छ । उहाँले उपाधिसहित रु १० हजार पुरस्कार पाउनुभयो ।

यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बन्नुभयो । गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ हुनुभयो ।

यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ हुनुभयो ।

महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पाउनुभयो । तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः रु १० हजार, पाँच हजार र रु दुई हजार पाँच सयको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो ।

यसैगरी भेट्रान्स पाँच किमी दौडमा काठमाडौँका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो हुनुभयो । उहाँहरूले क्रमशः रु १० हजार, सात र पाँच हजार पुरस्कार पाउनुभयो । विद्यालय छात्रतर्फ पाँच किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गङ्गा गुरूङ तेस्रो हुनुभयो ।

छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो हुनुभएको आयोजकले जनाएको छ । विद्यालय छात्रछात्रा दौडको विजेताले रु १५ हजार, उपविजेताले रु १० हजार, र तृतीयले रु पाँच हजार पुरस्कार पाउनुभयो ।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गर्नुएको थियो । प्रतियोगितामा छ विधामा गरेर चार सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया