अष्टवक्र गीताको चौथो संस्करण प्रकाशन

  चैत ३०, २०८०

ललितपुर, ३० चैत : प्राध्यापक शिवगोपाल रिसालद्वारा अनुवादित अष्टवक्र गीताको चौथो संस्करण सार्वजनिक भएको छ। प्राध्यापक रिसालको ८८ औं जन्मोत्सवको अवसर पारेर उहाँको यो ८८ औं कृति सार्वजनिक भएको छ । 

पुस्तकमा गुरु अष्टावव्रm मुनिले शिष्य राजा जनकलाई दिएको उपदेश अत्यन्तै सरल, सोझो र सुबोधगम्य भाषामा अनुवाद गरिएको छ। जम्मा २० प्रकरणमा आवद्ध गीतामा  २९८ श्लोक रहेका छन्। ती श्लोक अनुष्टुप छन्दमा रचिएका छन्। राजा जनकको जिज्ञासापूर्ण प्रश्नबाट सुरु भएको गीता जनककै उद्गारबाट पूरा भएको छ । 

अष्टावक्रको उपदेश २१६ श्लोकमा छ भने जनकको प्रश्न र अनुभवात्मक  उद्गारबाटै  ८२ श्लोकमा व्यक्त गरिएको छ। अनुवादक प्राध्यापक रिसाल  यसलाई वैदिक – दर्शनको सर्वोच्च उपलब्धी भन्नुहुन्छ। उहाँ यसलाई अध्यात्म चिन्तनको उच्च मूल्याङ्कनको रुपमा ब्याख्या गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ ‘अष्टावक्र बेजोड विद्वान, असाधारण प्रतिभासम्पन्न जीवन्मुक्त ऋषिकुमार भएकोले उनले बोलेका बाणी मन्त्र हो, संहिता हो । 

उहाँ यस गीतामा कहिले गुरुको मुखबाट त कहिले शिष्यको मुखबाट बारम्बार ब्रह्म, आत्म, ज्ञान, मोक्ष, आनन्दको प्रसङ आएको भन्दै सबै प्रसङ्गको अन्तिम उद्देश्य मोक्ष नै भएको बताउनुहुन्छ। करिब तीन महिना लगाएर यो पुस्तक अनुबाद गरेको उहाँको भनाइ छ । 

पुस्तकको प्रकाशन विनोदकुमार गुरागाईंले गर्नुभएको हो। पुस्तक सार्वजनिक समारोहमा प्रकाशन गुरागाईंले  पुस्तक बिक्रीको सम्पूर्ण रकम जावलाखेलस्थित स्वाध्याय परिवारको लागि समर्पण गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो।  पुस्तकको मूल्य ६५० रुपियाँ तोकिएको छ । 

तपाईको प्रतिक्रिया