राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्न आवश्यक : डा कोइराला

  चैत २९, २०८०

घोराही (दाङ), २९ चैत : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

मिश्रित निर्वाचन प्रणलीका कारण ६-६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै कांग्रेस नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुनःविचार गर्नुपर्ने बेला आएको बताउनुभयो ।

नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनको घोराहीमा आज उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेस र एमाले दुई ठूला राजनीतिक शक्तिकाबीच एकता कायम गरी निर्वाचन प्रणालीका बारेमा ठोस् कदम चाल्नुपर्ने बेला आएको बताउनुभयो ।

नेपालको संविधान २०७२ मा रहेका केही त्रुटी संशोधन गर्नुपर्ने भएकाले त्यसका लागि दुई ठूला राजनीतिक शक्ति कांग्रेस र एमाले एक भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । नेता कोइरालाले नयाँ संविधान जारी गर्ने बेला गरिएको निर्वाचन प्रणालीको परिकल्पना ठिक भए पनि यसको गलत प्रयोगले राजनीतिक अस्थिरता निम्त्याएको भन्दै राजनीतिक स्थिरताका लागि कांगे्रस र एमाले एकै स्थानमा उभिने समय आइसकेको बताउनुभयो ।

पटक–पटक सरकार परिवर्तन हुने परिपाटीले विकासलाई पछि पारेको भन्दै नेता कोइरालाले सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुने, कर्मचारी फेरबदल हुने र त्यसको प्रत्यक्ष असर विकासमा हुने भएकाले अस्थिरतालाई न्यूनीकरण गर्नका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने उहाँले तर्क गर्नुभयो । अब कांग्रेसको बाटो यही हो ।

यसका लागि दुई
ठूला पार्टी एकै ठाउँमा उभिनुपर्छ उहाँले भन्नुभयो,“राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक मन्दिको डरलाग्दो अवस्था आएको, आर्थिक मन्दिका कारण धेरै व्यवसायमा सटर डाउन भइसकेका र एकै व्यक्ति तथा समूहले आर्थिक जालो फिँजाएको पनि उहाँले बताउनुभयो । निर्वाचन प्रणनी पुनःविचारका लागि यो विषयमा पार्टी र सदनमा कुरा उठिसकेको भन्दै नेता कोइरालाले अब कांग्रेसले यही एजेन्डामा आफूलाई केन्द्रित राख्ने बताउनुभयो । यो समस्याबाट जनतालाई कांग्रेस न्याय दिन लागिपरेको छ, लाग्छ र गर्छ, विश्वस्त हुनुहोस् उहाँले भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले विवादित सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक पीडितमैत्री विधेयक बन्नुपर्ने बताउनुभयो । विधेयकमा भइरहेको राजनीतिकरणका विषयलाई लिएर नेता कोइरालाले टिआरसी विधेयक राजनीतिक लेनदेनको विषय बन्न नहुने पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया