कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कँडेल नियुक्त

  चैत २७, २०८०

कर्णाली, २७ चैत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको समर्थनसहितको हस्ताक्षर पत्र कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पेश गरेसँगै प्रदेश प्रमुख परियारले नेता कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । प्रदेश सरकार गठनका लागि २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । माओवादी केन्द्रका उपसभामुखसहित १३, एमालेका सभामुखसहित १० र एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यको नेता कँडेललाई समर्थन रहेको छ ।

यस्तै कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक एक प्रदेशसभा सदस्य रहेका राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया