काठमाडौँमा ‘सम्बन्ध’ कला प्रदर्शनी

  चैत २२, २०८०

काठमाडौँ, २२ चैत : काठमाडौँमा आजदेखि नेपाल र भारतका कलाकारको सहभागितामा ‘सम्बन्ध’ शीर्षकमा तीन दिने कला प्रदर्शनी सुरु भएको छ । कला र सिर्जनाका माध्यामबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले कला प्रदर्शनी आयोजना गरिएको हो ।

‘जरा फाउण्डेशन’सँगको सहकार्यमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको सो प्रदर्शनीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कला प्रदर्शनीमा नेपालका २२ र भारतका १३ कलाकारको सहभागिता रहेको छ । भारतका कलाकारहरु समेत उक्त प्रदर्शनीमा प्रत्यक्षरुपमा सहभागी छन् । मुख्यगरी भारतको सिक्किम, दार्जिलिङ र कालिङपोङबाट कलाकारहरु सहभागी भएका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो ।

प्रदर्शनी उद्घाटनपछि आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईले विभिन्न कूटनीतिक सिमाना हुने भए पनि सबैभन्दा चीर स्थायी सीमाना सांस्कृतिक भएको बताउनुभयो । उहाँले भन्नुभयो– “कलाको भाषा अन्तर्राष्ट्रिय भाषा हो, काम गर्दै जाँदा त्यहाँ पनि सांस्कृतिक भाषा हुन्छ, त्यो सांस्कृतिक भाषाले एक ठाउँमा बाँध्छ ।”

सदस्य सचिव थुम्केलीले राजनीति र भूगोलले नेपाल तथा भारत भनेर बनाए पनि दुई देशको साँस्कृतिक सिमानाले कहिले अलग नगरेको अविछिन्न सिमाना रहेको बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले कला प्रदर्शनी मात्रै नभएर नाट्य सङ्गीत र लेखकको सम्बन्धलाई पनि प्रगाढ बनाउन सकिने उहाँले बताउनुभयो । यस्ता सिर्जनाले आपसी भाइचाराको विकास र सम्बन्ध थप मिठास बनाउने सदस्य सचिव थुम्केलीको भनाइ थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको भाषाले सीमाविहीन सम्बन्ध रहेको बताउनुभयो । उहाँले राजनीतिक सीमाले हामीलाई कहिल्यै नछेक्ने हुँदा सिर्जनाको भाषा विश्वमै अब्बल हुने बताउनुभयो । छिमेकी देशबाटै सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्छ भनेर लागेको कुलपति हार्तम्छालीको भनाइ थियो ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नामबाटै कला प्रदर्शनीको औचित्य पुष्टि हुने उल्लेख गर्दै सदियौँदेखिको सम्बन्धलाई थप मजबुद बनाइराख्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । भारतबाट आएका कलाकारको नेतृत्व कवि एवं कलाकार दीपा राईले गर्नुभएको छ । सम्बन्धमार्फत एउटा सुरुआत भएको र यसले आपसी सम्बन्ध जोड्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । दुवै देशका नागरिक भौगोलिक रुपमा टाढा भए पनि कला र मनले जोडिएर रहेका उहाँले उल्लेख गर्नुभयो ।

प्रदर्शनीमा भाग लिन भारतबाट कलाकार दीपा राई, पासाङ शेर्पा, कमल खालिङ, धीरज प्रधान, सागर सुब्बा, विमला प्रधान, विके सुब्बा, कृष्ण राई, छेन्डुप लेप्चा, विकाश सुब्बा, टीका प्रधान, रिचर्ड जी लेप्चा, टेसेटेन शेर्पालगायत आउनुभएको छ । तीन दिनसम्म चल्ने सो प्रदर्शनीका क्रममा शुक्रबार दुई देशका कलाकारको सहभागितामा कला कार्यशाला र छलफल आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया