अफगानी विश्वविद्यालयमा डेढ वर्षदेखि किशोरीको प्रवेशमा रोक

  चैत १७, २०८०

काबुल, १७ चैत : अफगानी सकारको गैर जिम्मेवारपूर्ण प्रवृतिको परिणामस्वरुप निरन्तर करिब डेढ वर्ष (४५० दिन) भन्दा बढी समय अफगानिस्तानका विश्वविद्यालयहरू बालिकाहरूका लागि बन्द छन् ।

सकारको यस कदमको चौतर्फी आलोचना भइरहेको छ । लामो समयदेखि गैर–मानवीय निर्णय बमोजिम बन्द भएका अफगानी विद्यालय तथा विश्वविद्यालयहरू अझै खोल्ने कुनै सङ्केत नदेखिएको टोलो न्यूजले जनाएको छ ।

शिक्षाबाट वञ्चित हुनु परेका निराशा बालिकाहरूले आफ्नो शैक्षिक गतिविधिमा भएकोे उल्लेखनीय ढिलाइलाई उजागर गर्दै यस वर्ष विश्वविद्यालयहरू पुनः खोल्ने विषयलाई प्राथमिकता दिन तालिबानी कामचलाउ सरकारलाई आग्रह गरेका छन् ।

पिडित अफगानी बालिकाको तर्फबाट बोल्दै खदिजाले किशोरीहरूकोे शिक्षाले सम्पूर्ण परिवारको साक्षरता र विकासलाई प्रतिबिम्बित गर्ने बताउनुभएको छ । खादिजाजस्तै धेरै अफगानी महिलाले सुरक्षाका कारण आफ्नो पूरा नाम उल्लेख गर्न चाहन्नन् । खदिजाले भन्नुभयो, “संवेदनशिल विषयलाई बेवास्ता गर्नाले समग्रमा देशको हरेक प्रगतिलाई खतरामा पार्ने सम्भावना बढेको छ ।

पिडितको भावनालाई प्रतिनिधित्व गर्दै नारो थर भएकी एक अर्की महिलाले बालिकाहरूका लागि विद्यालय र विश्वविद्यालयहरूको ढोका खोल्न आग्रह गर्नुभएको छ । गुणस्तरीय शिक्षाको निरन्तर प्राप्तिले मात्र उनीहरूको शिक्षा बलियो र प्रगतिशील समाज निर्माणका लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने उनीहरूको भनाइ छ ।

यस सन्दर्भमा विश्वविद्यालयका प्राध्यापकहरूले समेत चिन्ता व्यक्त गर्दै किशोरीहरूका लागि विश्वविद्यालयहरू निरन्तर बन्द हुँदा देशको प्रगतिमा बाधा पुग्ने डर पलाएको उल्लेख गर्नुभएको छ ।

शिक्षाविद् जकिउल्लाह मोहम्मदीले शिक्षामा समान पहुँच सुनिश्चित गर्नु प्रभावकारी शासन र सामाजिक प्रगतिको आधार भएको बताउनुभएको छ ।

पूर्व राष्ट्रपति हमिद करजाईले नर्वेका उपराजदूतसँगको छलफलका क्रममा बालिकाका लागि शैक्षिक संस्थाहरू पुनः खोल्ने आवश्यकतालाई जोड दिनुभएको छ ।

पुनः खोल्ने सम्बन्धमा तालिबानबाट नयाँ घोषणाहरू नभए पनि उनीहरूको शिक्षाको अधिकारका सम्बन्धमा कामचलाउ सरकारले दिएको अघिल्लो आश्वासनलाई स्मरण गरिएको छ ।

सन २०२१ मा तालिबान सत्तामा फर्किएपछि सरकारको निर्देशन अनुसार विद्यालयहरूले छ कक्षा पढिसकेका बालिकाहरूलाई विद्यालय तथा विश्वविद्यालय स्तरको कक्षा प्रवेशमा रोक लगाएका टोलो न्यूजले जनाएको छ । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया