‘इलाम साहित्य महोत्सव’ आजदेखि सुरु

  चैत १६, २०८०

फिक्कल (इलाम), १६ चैत : ‘इलाम साहित्य महोत्सव’ आजदेखि इलाममा सुरु भएको छ । साहित्य क्षेत्रबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सदरमुकाममा दुई दिने साहित्य महोत्सव सुरु भएको हो ।

गौतमबुद्ध सभागृहमा सुरु भएको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो । कुलपति राईले सांस्कृतिक सत्ताको स्थापना नगरी देश सम्पन्न नहुने बताउनुभयो । ‘संस्कृति भनेको चिन्तन प्रणाली हो, सांस्कृतिक सत्ताको स्थापना नगरी देश सम्पन्न हुँदैन”, उहाँले भन्नुभयो, “मौलिक ज्ञान प्रणालीको सांस्कृतिक सत्ता आवश्यक छ ।”

‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, चिन्तक, लेखक, राजनीतिकर्मी, कलाकारलगायत दुई सय बढीको सहभागिता रहेको आयोजक इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो ।

शनिबारसम्म सञ्चालन हुने महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे एकै थलोमा बहस सुरु भएको छ । कार्यक्रमको पहिलो प्रस्तुति पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘नेपालको संरचनागत सङ्कट र दिगो समाधान’ विषयमा सम्भाषण दिनुभएको थियो ।

‘सङघीयता : यस्तै वा कस्तो ?’ शीर्षकमा नविना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरुप र सुमिनाबीच बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा अरुण गुप्ता र राजन मुकारङबीच बहस र ‘आख्यान ः अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र बसन्त बस्नेतबीच बहस भएको थियो ।

त्यसैगरी ‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वर्णिम वाग्लेको प्रस्तुति रहनेछ भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस भएको अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो । त्यसैगरी ‘कविताको स्वर’ शीर्षकमा गद्य कविता वाचन र ‘छन्द सुगन्ध’ शीर्षकमा पद्य कविता वाचन भएको थियो ।

महोत्सवको दोस्रो दिन शनिबार ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णबीच बहस, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबीच बहस हुनेछ । ‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाबीच संवाद, ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङबीच बहस र ‘अक्षर मोह : अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयबीच बहस हुनेछ ।

त्यस्तै, ‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीबीच बहस, ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा अस्मिता विष्टबीच बहस एवं ‘कस्तो राजनीति’ शीर्षकमा डा सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबीच बहस हुनेछ । साँझ गजल सन्ध्याका साथ महोत्सव समापन हुनेछ ।

इलाममा साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया