इजरायली कारबाहीमा अस्पताल क्षेत्रमा दुई सयजनाको मृत्यु

  चैत १५, २०८०

तेल अभिभ, इजरायल, १५ चैत : हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरू गरेदेखि एक हप्ताको समयमा २०० भन्दा बढी लडाकूहरू मारिएको इजरायली रक्षा बल (आइडिएफ) ले बिहीबार जनाएको छ ।

इजरायली सैनिकहरूले हमास र प्यालेस्टिनी इस्लामी जिहादी लडाकू समूहविरुद्ध गाजाको सिफा र खान युनिस अस्पतालमा खोजतलास र कारबाही चलाइरहेकोे छ ।

कारबाहीका क्रममा ८०० संदिग्ध लडाकूहरूलाई हिरासतमा लिएको छ । यसमध्ये करिब ५०० जना हमास वा अतिवादी प्यालेस्टिनी इस्लामिक जिहादी समूहका सदस्य भएको इजरायली सेनाले दाबी गरेको छ ।

अस्पतालमा कारबाही सुरू भएपछि शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई उनीहरूको सुरक्षाका लागि सिफा परिसर क्षेत्रमा सारिएको तथा नागरिक र कर्मचारीहरूलाई कुनै हानि नभएको आईडीएफले बताएको छ ।

अस्पतालको एक भवनमा हमासले सरकारी मन्त्रालयहरू, शिक्षा, आन्तरिक, खजाना र प्रहरी मन्त्रालयहरूका प्रतिनिधिसहितको सानो सरकारी प्रशासन केन्द्र स्थापना गरेको विवरणहरू इजरायली सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

खान युनुसमा सैनिकहरूले अल अमल र अल करारा छिमेकमा लडाकू समूहले खडा गरेका पूर्वाधार कब्जामा लिई विस्फोटक पदार्थहरू जफत गरिएको छ ।

अक्टोबर सातमा गाजामा हमासको आक्रमणमा इजरायली समुदायका कम्तीमा एक हजार दुई सय मानिसको मृत्यु भएको थियो भने २४० इजरायली तथा विदेशीलाई बन्धक बनाइएको थियो ।

नियन्त्रणमा लिएकामध्ये करिब १२० जनालाई यस पहिले गरिएको युद्धविरामका क्रममा रिहा गरिएको थियो भने बन्धकमध्ये इजरायलले ३१ जनालाई मृत घोषणा गरेको छ । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया