श्रीलङ्काको केन्द्रीय बैङद्वारा ब्याज दर नियन्त्रण

  चैत १३, २०८०

कोलम्बो, १३ चैत : श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमशः : ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

केन्द्रीय बैङ्कका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सिमामा कायम राख्ने प्रयास गरिएको छ । अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्‍याउन आन्तरिक तथा बाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्याङ्कन पछि केन्द्रीय बैङ्कले सोमबार यस्तो  निर्णय गरेको हो ।   

यस्तो निर्णय गर्नुका पछाडि कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाब, र ब्याज दरलाई हेरिएको बैङ्कले जनाएको छ । आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रीय बैङ्कले  अगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ । 

केन्द्रीय बैङ्कको बोर्डले न्यून ब्याज दर, कर्जा विस्तारमा सहजीकरण,वाञ्छित सीमा भित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको छ ।  बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलङ्काले सन्  २०२२ मा ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको थियो भने सन् २०२३ मा पटक पटक दरहरू घटाएको थियो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया