अमेरिकामा पनि मनाइयो होली पर्व

  चैत १३, २०८०

अमेरिका, १३ चैत : फाल्गुण शुक्ल अष्टमीका दिन हर्षोल्लास र उमङ्गका साथ मनाइने पर्व होली अर्थात् फागु  मनाइएको छ । आइतवार साँझ नेपालीहरूको बाक्लो बस्ती रहेको इलाका मोरिसभिलमा रङ्ग र खुसी साटासाट गरी नेपालीहरूले यो पर्व मनाएका हुन् । सो अवसरमा बालबालिका, युवा र वृद्ध गरी करिब तीन सय जनाको उपस्थिति रहेको जनाइएको छ ।

आफ्ना सुखदुख साटासाट गरी यो पर्व रमाइलो गरी मनाइयो, नर्थ क्यारोलिनास्थित नेपालीहरूको संस्था एनसीएनसीका अध्यक्ष विकास शाक्यले भन्नुभयो । उहाँका अनुसार, उपस्थित व्यक्तिहरूले भरपुर मनोरञ्जन लिएका थिए । त्यस अवसरमा एनसीएनसीका पदाधिकारीका अतिरिक्त मोरिसभिल टाउनका मेयर टिजे काउली र काउन्सिल मेम्बर स्टिभ रावको पनि उपस्थिति थियो ।

सो अवसरमा नेपालको सुदूर पश्चिमेली भाकामा देउडा नृत्य पनि गरिएको थियो । म त प्रत्येक वर्ष जाने गरेको छु, यो पटक पनि निकै रमाइलो भयो होली खेलेर फर्केकी सुस्मा अधिकारीले भन्नुभयो । कोभिडको समयमा केही वर्ष बन्द भए पनि हाल आएर अमेरिकाका अधिकांश स्थानमा होली पर्व मनाइने गरिएको छ ।

तपाईको प्रतिक्रिया