६० लाख अफगानीलाई सहायता वितरण

  चैत १२, २०८०

काबुल (अफगानिस्तान), १२ चैत : फेब्रुअरीमा अफगानिस्तानमा ६० लाख मानिसहरूले खाद्य सहायता प्राप्त गरेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई उद्धृत गर्दै अफगानी समाचार संस्था खामा प्रेसले जनाएको छ ।

डब्लुएफपीले शनिबार अफगानिस्तानमा ६० लाखभन्दा बढी मानिसलाई नगद र खाद्यान्न सहायता उपलब्ध गराएको छ । प्रेस विज्ञप्तिअनुसार अफगानी बालबालिकालाई खाना तथा पोषण उपलब्ध गराउने आवश्यकता पुरा गर्न यो सहायता प्रदान गरिएको हो ।

केही निजी दाता र सहयोगी देशहरूको आर्थिक सहयोगमा अफगानिस्तानमा खाद्य सहायता प्रदान गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानमा आर्थिक चुनौती र मानवीय सङ्कटले खाद्य सहायताको माग बढेको सरकारी तथा गैर–सरकारी स्रोतहरूले जानकारी गराएपछि युएनडब्ल्युएफपीको सहकार्यमा सहायता प्रदान गरिएको हो । 

पछिल्लो समयमा गम्भीर मानवीय सङ्कटबिच अफगान शरणार्थीहरू पाकिस्तानबाट ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । मुलुकमा जारी द्वन्द्व र आर्थिक अस्थिरतासहित अफगानिस्तानको बिग्रँदै गएको मानवीय सङ्कटले धेरै शरणार्थीहरूलाई अनिश्चित अवस्थाको बाबजुद स्वदेश फिर्ता गर्न प्रेरित गरेको खामा प्रेसले जनाएको छ ।

शरणार्थीहरू स्वदेश फर्केसँगै उनीहरूले  खाना, आश्रय र स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकताहरूमा सीमित पहुँचसहित विशाल चुनौतीहरूको सामना गरिरहेका छन् ।

शरणार्थीहरूले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो मातृभूमिमा चलिरहेको सङ्कटबिचमा अफगान शरणार्थीहरूको सुरक्षा र कल्याण सुनिश्चित गरी पुनः वास र एकीकरण प्रयासहरूलाई सहयोग पुर्‍याउन तत्काल सहयोग प्रदान गर्न आग्रह गरिरहेका छन् । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया