बेलारुसकी पहिलो महिला अन्तरिक्ष यात्री बोकेको अन्तरिक्ष यानले उडान भर्यो

  चैत १०, २०८०

मस्को, १० चैत : बेलारुसकी प्रथम महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्काया बोकेको रसियाली सोयुज अन्तरिक्ष यान शनिबार अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)का लागि सफलतापूर्वक प्रस्थान गरेको मस्कोको रोस्कोसमोस अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

सोयुजले काजकिस्तानको बायकोनुरबाट १२ः३६ जिएमटी मा उडान भरेको र योजनाअनुसार कक्षमा पुगेको रोस्कोसमोसको विज्ञप्तिमा जनाइएको छ ।

अनुभवी रुसी अन्तरिक्ष यात्री ओलेग नोभित्स्की, संयुक्त राज्य अमेरिकाका ट्रेसी डाइसन र ३३ वर्षीया मारिना भासिलिभस्काया बोकेको सोयुज एमएस–२५ यान शनिबार बिना कुनै समस्या बायकोनुर अन्तरिक्ष बन्दरगाहबाट उडान भरेको थियो । “बोर्डमा सबै ठीक छ”, नोभित्स्कीले रोस्कोस्मोसद्वारा प्रसारित भिडियोमार्फत भन्नुभयो ।

पछिल्लो दुई वर्षमा मस्को र वासिङ्टनबीचको सम्बन्ध पूर्णरूपले बिग्रिएपछि अन्तरिक्ष अमेरिका–रुस साभेदारीको अन्तिम क्षेत्र हो । यद्यपि रुसले आफ्नो छुट्टै अन्तरिक्ष स्टेसन बनाउने योजना रहेको बताएको छ ।

रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन छोड्ने भने पनि हालको अवस्थामा सन् २०२८ सम्म सहभागी रहने भएको छ ।

नासाले आफ्नो ‘स्पेश शटल प्रोग्राम’ रोकेपछि लगभग एक दशकका लागि पृथ्वी र आइएसएस बीच अन्तरिक्ष यात्रीहरूलाई लैजान रुसी सोयुज एक मात्र तरिका थियो ।

तर संयुक्त राज्य अमेरिकाले रुसको एकाधिकारको अन्त्य गर्दै हाल निजीपमा निर्मित स्पेसएक्स रकेट र क्याप्सुलहरु प्रयोग गर्न थालेको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया