‘खायन’ प्रजातिको आलु संरक्षण थालियो

  चैत १०, २०८०

बलेवा (बागलुङ), १० चैत : बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ । ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवद्र्धन र संरक्षण गर्न लागेको हो ।

रैथाने आलु संरक्षणको अभियानमा लागेको गाउँपालिकालाई ज्ञान केन्द्रले पनि प्रविधिमा साथ दिएको हो । सदरमुकाममा अधिकांश होटलमा प्रयोग हुने आलुमा ताराखोलाको बढी माग हुने गर्छ । तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउनुहुन्छ । बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो ।

बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला र ढोरपाटनको आलु खोज्ने गरेका छन् । जैविक भएकाले सबैको रोजाइमा ताराखोलाकै आलु पर्ने गरेका बताइएको छ । ताराखोलाका किसानले रासायनिक मल प्रयोग गर्दैनन् । अग्र्यानिक आलु भएकाले खान पनि मीठो हुँदा बजारमा सहजै बिक्री हुन्छ ।

सबैको चासो र अग्र्यानिक भएकाले कृषि ज्ञान केन्द्रले ताराखोलामा रैथाने आलु प्रवद्र्धनको काम गरेको हो । आलुमा मिसावट नभएकाले रैथाने आलु प्रवद्र्धन कार्यक्रम बनाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो ।

“हामीले अहिलेसम्म ताराखोलाको आलुमा रासायनिक मल सिफारिससम्म गरेका छैनौँ”, उहाँले भन्नुभयो, “अग्र्यानिक आलुकै रुपमा बजार पाउने अवस्था छ ।” पुनका अनुसार ताराखोलामा मात्रै ‘खाएन आलु प्रवद्र्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवद्र्धनको कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । त्यसका लागि न्यूनतम पाँच सय हेक्टर जमिन छनोट भएको छ । रैथाने आलु प्रवद्र्धन गरेर बजारीकरणमा समेत केन्द्रले साथ दिएको छ ।

गत वर्ष ताराखोलामा साढे सात लाख किलो आलु फलेको थियो । उक्त आलु पोखरा, बुटवल र बागलुङका बजारमा सहजै बिक्री हुने गरेको छ । ज्ञान केन्द्रले उत्पादनपछि प्रतिकिलो रु दुइ किसानलाई अनुदान दिने गरेको छ । कम्पोष्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताउनुभयो ।

किसानले आलुबाटै मनग्ये कमाई पनि गरेका छन् । आलुको बजार सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुनले बताउनुभयो । ताराखोलामा आलु भण्डारणको ‘स्टोर’ पनि बनेका छन् ।

स्थानीय स्रोत साधनबाटै बनेका घरमा आलु भण्डारण गरिने वडा नं ४ की गमिला रोकाले बताउनुभयो । त्यसबाहेक तारखोलामा बोडी, सिमी, राजमा, च्याउ, कर्कलो, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र मार्सी चामल ताराखोलाका उत्पादन हुन् ।

तपाईको प्रतिक्रिया