रुकुमपश्चिममा तरकारीको बीउ उत्पादनमा वृद्धि

  चैत ०७, २०८०

त्रिवेणी (रुकुमपश्चिम), ७ चैत : पछिल्लो सयम रकुम पश्चिममा तरकारीको बीउ उत्पादन बढ्दै गएको छ । किसानले उत्पादन गरेको बीउले बजार नपाएको गुनासो आए पनि उत्पादनमा भने वृद्धि भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा विसं २०३५ देखि तरकारीको बीउ उत्पादन सुरु भएको थियो । केही समय उत्पादनमा कमी आएकामा पछिल्लो केही वर्षयता जिल्लामा तरकारीको बीउ उत्पादन गर्ने किसानको सङ्ख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको कार्यालयका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार मुख्य गरी मुसीकोट नगरपालिका–३ माछमी र १३ नं वडाको सानचौरमा बीउ उत्पादन प्रशस्तै हुने गरेको छ । चौरजहारी नगरपालिका तथा त्रिवेणी र सानीभेरी गाउँपालिकाका केही भूभागमा पनि उत्पादन हुने गरको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । यहाँ मुला, प्याज, चम्चुर, काउली, सलगमलगायत ११ किसिमका तरकारीका बीउ उत्पादन हुने गरेको उहाँको भनाइ छ ।

जिल्लामा उत्पादिन बीउ दाङ, पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ । गत आर्थिक वर्ष २०७९-८० मा जिल्लामा एक सय ११ मेट्रिकटन बीउ जिल्ला बाहिर बिक्री गर्दा यहाँका किसानले रू सात करोड आम्दानी गरेका केसीले जानकारी दिनुभयो । चालु आवमा पनि मनग्य उत्पादन भएकाले आम्दानी पनि राम्रो हुने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।

जिल्लामा तरकारी बीउ उत्पादनसँगै बजारीकरणको समस्या नभएपनि किसानले भनेजस्तो मुल्य पाउन नसक्नु मुख्य समस्या रहेको निमित्त प्रमुख केसीको भनाइ छ । उक्त समस्या समाधानका लागि कृषि विकास कार्यालयले विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्ने योजना बनाइरहेको उहाँले बताउनुभयो ।

यहाँ बीउ उत्पादन वृद्धि भए पनि राम्रो मुल्य पाउन नसकेको मुसीकोट–३ का मुला बीउ उत्पादक नन्दराम केसीले बताउनुभयो । कृषकलाई प्रोत्साहन गर्न सरकारले चासो नदेखाएको गुनासो गर्दै प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने, बजारीकरणको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

“किसानले उत्पादन गरेको बीउको मुल्य बढ्ने र बजारीकरणको राम्रो व्यवस्था भए काम गर्न कुनै समस्या थिएन”, कृषक केसीले भन्नुभयो । स्थानीय सरकारले किसानका लागि कृषि अनुदानको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया