‘दोलखाका जनताको जीवनस्तर उकास्न लाग्नेछु’

  चैत ०६, २०८०

काठमाडौँ, ६ चैत : राष्ट्रियसभा सदस्य भएर देशको सेवा गर्ने अवसर भर्खरै प्राप्त भएको छ । खुसी लागेको छ । जिम्मेवारीवोध पनि भएको छ । दोलखा प्राकृतिक हिसाबले निकै सुन्दर जिल्ला हो । त्यस ठाउँको विकास गर्नुपर्ने मुख्य जिम्मेवारी छ । बागमती प्रदेशको दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य पुग्न पाउँदा गर्व लागेको छ ।

प्राकृतिक र जातीय हिसाबले पनि लोपोन्मुख थामी, जिरेल, सुरेल जाति दोलखामा बासोबास गर्दछन् । उनीहरूको संस्कृतिका साथै शिक्षा, स्वास्थ्यदेखि आधारभूत आवश्यकताका बारेमा पनि ध्यान दिनुपर्ने जरुरी छ । समग्र दोलखाली जनताको जीवनस्तर उकास्न काम गर्नुपर्ने छ । दोलखाबाट निर्वाचित जनप्रतिनिधि र दोलखामा सक्रिय राजनीतिक दलहरू सबै मिलेर विकास निर्माणका काममा एकताबद्ध हुनुपर्ने जरुरी छ । बौद्धिक व्यक्तित्व र सरोकारवाला पक्षको एकमत हुन जरुरी छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको चरणमा जिल्लाका राजनीतिक दलहरू एक हुँदा राम्रो सन्देश गएको म यहाँ स्मरण गर्न चाहन्छु । यो आयोजना निर्माणबाट दोलखालाई मात्र नभएर सिङ्गो नेपालको अर्थतन्त्रलाई सहयोग पुग्यो । लोडसेडिङको मारमा परेका जनतालाई उज्यालोतर्फ लैजाने काम भयो । तामाकोशी जलविद्युत् आयोजना तेस्रोलगायत यस जिल्लामा विभिन्न सुन्दर प्राकृतिक तालहरू छन् । पर्यटन क्षेत्र, कृषि उत्पादन वृद्धि गर्न सकेमा जिल्लावासीको जीवनस्तरमा सुधार आउँछ । मेरो ध्यान दोलखाली जनताको जीवनस्तर उकास्नमा हुनेछ । जनता दिगो शान्ति, सुशासन, विकास निर्माण चाहन्छन् ।

संविधान जारी भएको लामो समय बितिसक्दा पनि संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बन्न सकेका छैनन् । यो अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र अस्थिरताले गर्दा नै हो भन्ने मेरो बुझाइ छ । सर्वप्रथमतः राजनीतिक दलहरू नै संविधानप्रति इमान्दार हुनुपर्छ । संविधान कार्यान्वयनका सन्दर्भमा दलहरू एकै ठाउँमा उभिन सक्नुपर्छ । समयको पदचापलाई दलहरूले बुझ्न सकेमा मात्र देशको भविष्य सुन्दर हुन्छ । परिपक्वता र सामूहिकताको भावना जरुरी भइसकेको छ ।

संसद्मा विधायकको काम कानुन बनाउने भनिए पनि नेपालमा त्यो खालको परिपाटी अझै राम्रोसँग स्थापित हुनसकेको छैन । सांसद भन्नेबित्तिकै विकास गर्ने हो भन्ने जनमत छ । त्यो कुरा जनतालाई बुझाउन पनि सकिएको छैन । पहुँच भएका नेताहरूले आफ्नो गाउँ, जिल्लामा विकास निर्माणका लागि बजेट धेरै लगेको पनि देखिन्छ ।

म राष्ट्रियसभाअन्तर्गत आर्थिक व्यवस्था तथा सुशासन समितिमा आबद्ध छु । संसदीय मर्यादाको पालना गरेर आफ्ना कुराहरू राख्ने, अध्ययन गर्ने, विज्ञहरूसँग छलफल गरेर कानुन बनाउने काम गर्ने मुख्य भूमिका रहने छ । सांसदको रूपमा जति दिन काम गर्न पाउँछु, पूरै निष्ठाका साथ गर्नेछु ।

सांसद घनश्याम रिजालकोे परिचय
सांसद घनश्याम रिजाल दोलखा जिल्लाबाट नेकपा ९एमाले०का तर्फबाट राष्ट्रियसभा सदस्य हुनुहुन्छ । उहाँले गत फागुन २१ गतेबाट काम प्रारम्भ गर्नुभएको हो । बाबु धनबहादुर विश्वकर्मा र आमा रुद्रमाया विश्वकर्माको जेठो सन्तानको रुपमा विसं २०३७ पुस ८ गते जन्मिनुभएको हो ।

उहाँ २०४९ सालदेखि सक्रिय राजनीतिमा आबद्ध हुनुहुन्छ । तत्कालीन नेकपा ९एमाले० निकट युवासङ्घको जिल्ला समिति सदस्य, उपसचिव, पार्टीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेर काम गर्नुभयो । अहिले पार्टी उपसचिव, उपाध्यक्ष हुँदै बागमती प्रदेश कमिटी सदस्य रहनुभएको छ । नेपाल दलित मुक्ति सङ्गठनको केन्द्रीय महासचिव हुनुुहुन्छ । (रासस)

तपाईको प्रतिक्रिया