चीनद्वारा अमेरिकालाई टिकटक नियन्त्रण रोक्न आग्रह

  चैत ०१, २०८०

बेइजिङ, १ चैत : टिकटकलाई लक्ष्यित गर्दै अमेरिकाले बुधबार विधेयक अगाडि बढाएपछि चीनले बिहीबार अमेरिकालाई अन्य देशका कम्पनीहरूको अनुचित दमन रोक्न आह्वान गरेको छ ।

अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्ने र सबै देशका उद्यमहरूलाई खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित तरिकाले विकसित हुने वातावरण उपलब्ध गराउनुपर्ने वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले बताउनु भएको छ ।

‘सम्बन्धित पक्षहरूले चिनियाँ कानून र नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने र साथै चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्ने, उहाँले पत्रकार सम्मेलनमा उल्लेख गर्नु भएको छ ।

यसै हप्ता युएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटक सम्बन्धी बिललाई अनुमोदन गरेको छ जसमा टिकटकलाई या त यसले मूल कम्पनी, चिनियाँ टेक विशाल बाइटडान्सबाट अलग हुनुपर्ने या राष्ट्रव्यापी प्रतिबन्धको सामना गर्नुपर्ने बताएको थियो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया