संसद् र संसदीय समितिको निर्देशन कार्यान्वयनमा

  फागुन १६, २०८०

काठमाडौं, १६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ ।

बुधबार सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले समितिका सांसदहरूले उचित रूपले उठाएका प्रश्नहरूलाई सरकारले गम्भीर रूपमा लिने पनि बताउनुभयो । उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा मुख्य जोड दिनुहुँदै आएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले सङ्घीयता कार्यान्वयनका लागि बाँकी कानुनहरूको निर्माण कार्यलाई अघि बढाएको बताउनुभयो ।

‘‘संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको ब्यहोरा पनि जानकारी गराउन चाहन्छु । समितिमा माननीय सदस्यहरूले व्यक्त गरेका जिज्ञासाहरूमा पनि सरकारको धारणा तपाईँहरूले उचित रूपले उठाएका प्रश्नहरूलाई सरकारले गम्भीर रूपले लिने नै छ,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सङ्घीयता कार्यान्वयनका सरकारको उच्च प्राथमिकतामा रहेको छ । यस सन्दर्भमा विगत चार वर्षदेखि नसकेको सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन बमोजिम गठन गरिएको प्रदेश समन्वय परिषद्को बैठक यसै पटक दुई पटक बसी सङ्घीयताको कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरू कार्यान्वयन भइरहेका छन् ।’’

उहाँले सरकारले सङ्घीयता कार्यान्वयनको सम्बन्धमा गरेका निर्णयहरू कार्यान्वयन गरिरहेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया