वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैन : अर्थमन्त्री

  फागुन ०५, २०८०

काठमाडौं, ५ फागुन : अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई  सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं ।’ 

उहाँले समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन, म खबरदारी गर्छु। बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयास हो, यो सम्भव छैन ।’

लघु वित्तलाई कसरी स्वस्थ्य बनाउने भन्ने विषय अहिले सबैको चासोको विषय रहेको मन्त्री डा. महतले उल्लेख गर्नुभयो। पछिल्लो समय लघु वित्तमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको छ। लघु वित्त र सहकारीबाट ऋण लिएकालाई उपयोग गर्न खोजिएको छ। यो एकदमै खतरनाक प्रवृत्ति रहेको मन्त्री डा. महतले उल्लेख गर्नुभयो ।

‘यो खतरनाक प्रवृत्ति सरकारले हेरेर बस्दैन र लघु वित्तमा जोडिएको सबै बचतकर्तारु मिलेर यसको प्रतिवाद गर्नुपर्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘सँगसँगै लघु वित्तलाई स्वस्थ्य, पारदर्शी र गरिब र विपन्नलाई केन्द्रित हुनुपर्छ। लघु वित्तले मूल उद्देश्य छोडेर जानु हुँदैन ।’

लघु वित्तलाई नाफा कमाउने औजारको रुपमा उपयोग गर्नुहुँदैन। फाइदा उठाइ हालौं भन्नेलाई निरुत्साहित गर्न मन्त्री डा. महतले आग्रह गर्नुभयो। उहाँले दुःख सुख गरेर सानो सानो लघु वित्तमा बचत गरेको हुन्छ, ती वचतकर्ताको निक्षेप सुरक्षा गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो । 

‘ऋण लिएपछि फिर्ता गर्नुपर्ने दायित्व पूरा गर्नुपर्छ। लघु वित्तको सञ्चालक बनेर जसले उद्देश्य विपरित काम गरेको छ, दुरुपयोग गरेको छ, अपारदर्शी ढंगबाट व्यक्तिगत फाइदा उठाउन खोजेका छन् भने त्यसलाई तपाईंहरु सबै मिलेर निरुत्साहित गर्नुपर्छ’ मन्त्री डा. महतले भन्नुभयो ।

०४६ सालको परिवर्तनपछि नै लघु वित्त फस्टाएको हो। गरिबी निवारणमा लघु वित्त र सहकारीको भूमिका महत्वपूर्ण छ। उद्देश्यभन्दा टाढा गएकाले सहकारीमा समस्या आएको हो। तर राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा भएकाले लघु वित्तलाई पुरानै लयमा फर्काउन काम सुरु भएको छ। लघु वित्तलाई विपन्न नागरिक र महिलाको सशक्तिकरण र उत्थान गर्ने माध्यमको रुपमा हामीले अगाडि बढाउनुपर्छ । 

‘लिएको ऋण तिनुपर्ने आवश्यकता छैन, सबै हामी मिलाइदिन्छौं, हामीलाई सहयोग गर भनेर आश्वासन दिइएको छ। ऋणीको भावनामा खेल्ने प्रयास भइरहेको छ। यसलाई चिर्नु जरुरी छ’, मन्त्री डा. महतले भन्नुभयो, ‘वचतकर्ताको लगानी खोसेर ऋण माफी हुन सक्दैन। अबौं अनुदान दिन सक्ने अवस्था राज्यसँग छैन। त्यसकारण बेलैमा सचेत भएर जे दायित्व हो, त्यो पूरा गर्नैपर्छ। राज्यले ऋण तिर्न समय थप गर्ने र ब्याज कम गर्नका लागि सहजिकरण गर्न सक्छ। राष्ट्र बैंकले पनि त्यस किसिमको नीति ल्याएको छ। तर, तिर्नैपर्दैन भन्ने जुन प्रवृत्ति छ, यो प्रवृत्तिको जुन मनसाय छ, त्यसलाई हामीले पर्दाफास गर्नुपर्ने मन्त्री डा. महतको भनाइ थियो ।

तपाईको प्रतिक्रिया