इस्लामावाद, २३ माघ : पाकिस्तानी नौ सेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकको उद्धार गरेका छन् । अधिकारीका अनुसार भारतीय नागरिकहरु खुला समुद्रमा २४ घण्टासम्म डुङ्गामा फसेका थिए । पाकिस्तानी सुरक्षा एजेन्सीहरु घटना स्थलमा पुगी सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर-सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्तिमार्फत् उल्लेख गरेको छ ।
फसेका मानिसहरुको बारेमा जानकारी पाएपछि खोजी र उद्धार अभियान शुरु गरिएको पाकिस्तानी नौ सेनाका अधिकारीले डुङ्गामा देखिएको प्राविधिक समस्या समाधान गरी उद्धार गरेको आइएसपिआरले जनाएको छ । पाकिस्तानी उद्धार टोलीले प्रभावित भारतीय नागरिकलाई चिकित्सकीय सहयोगका साथै संकटग्रस्त डुङ्गाको सुरक्षासमेत सुनिश्चित गरेको बताएको छ । (रासस/सिन्ह्वा)






