काठमाडौं, १९ माघ : नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछाड्न सांसदलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदलाई निर्देशन दिएको हो ।
विगतमा संसदको बैठक तथा समिति बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
उहाँले नेपाली कांग्रेसका सांसद निरन्तर रुपले सभा र समितिमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको बताउनुभयो । उहाँले संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदलाई राजधानी नछोड्न निर्देशन दिइएको बताउनुभयो ।
यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छोड्न निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो ।
काँग्रेस संसदीय दलले संसद र समितिको बैठकमा अनिवार्य उपस्थित हुन, बैठक चल्दासम्म बस्न र क्रियाशीलतापूर्वक समिति र सभाको गतिविधिमा भाग लिन पनि सांसदलाई निर्देश गरेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।
बैठकले सभा र समितिको बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रह समेत गरेको छ । बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ । त्यसैगरी कांग्रेसले संसदका गतिविधिलाई व्यवस्थित गर्न र संसदलाई प्रभावकारी बनाउन अरु राजनीतिक दललाई अपील पनि गरेको छ ।
बैठकले संसदीय दलको विधान अनुरुप दलको समितिमा संयोजक तोकेको छ । जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौडेल र कानुन, न्याय तथा मानव अधिकार समितिमा नागिना यादवलाई संयोजकको जिम्मेवारी दिइएको छ ।






