यस वर्षदेखि ‘प्रादेशिक ललितकला प्रदर्शनी’

  माघ १४, २०८०

काठमाडौँ, १४ माघ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यस वर्षदेखि प्रादेशिक रुपमा ललितकला प्रदर्शनी गर्ने भएको छ । ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ गर्ने र त्यसबाट छानिएका कलाकृतिलाई समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गर्नेगरी कार्यक्रम सार्वजनिक गरिएको छ ।

यसअघि काठमाडौँमा मात्रै राष्ट्रिय प्रदर्शनी हुँदै आएकामा यसपटकबाट प्रादेशिक प्रदर्शनीको पनि थालनी गर्न लागिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो । प्रतिष्ठानले पहिलोपटक प्रादेशिक प्रदर्शनी गर्न लागिएकाले देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि शुक्रबार सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । यही फागुनपछि प्रदर्शनीको सुरुआत हुनेछ ।

‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ऐन–२०६४’ को दफा ५ को खण्ड (ट) को आधारमा स्वीकृत ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८०’ र ‘प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८०’ बमोजिम सातै प्रदेशमा आयोजना हुने प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिहरु नै २०८१ जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय प्रदर्शनीमा सहभागी हुन पाउने छन् ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा अप्रतियोगी र आमन्त्रित कलाकृति प्रदेशका हकमा सम्बन्धित प्रदेशको (कोसीको इटहरी मेट्रिक्स (इटहरी), मधेसको मधेस प्रज्ञा–प्रतिष्ठान (जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नक्साल), गण्डकीको गण्डकी प्रज्ञा–प्रतिष्ठान (पोखरा), लुम्बिनीको नेपाल व्यावसायिक कलाकार सङ्घ (बुटवल), सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (धनगढी) र कर्णालीको नेपाल व्यावसायिक कलाकार सङ्घ (सुर्खेत) र राष्ट्रिय प्रदर्शनीका हकमा यस नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल, काठमाडौँमा बुझाउनुपर्ने छ ।

कुलपति हार्तम्छालीले यस पटकदेखि राष्ट्रिय ललितकला प्रदर्शनीका लागि प्रदेशबाटै प्रतिस्पर्धा गरी कलाका पूरक गतिविधिका साथै बहुुआयामिक पाटालाई समेट्न खोजिएको बताउनुभयो । यसपटक सम्मान र मूूल्याङ्कनमा पनि विशेष सुुविधा, विविध विधा÷उपविधा र क्षेत्रगत पुुरस्कार सङ्ख्या तथा रकम पनि विशेष थप गरिएको छ । त्यसमा छायाँमा परेका प्रतिभाहरूको समावेशिता सहभागिता हुुने सृजनात्मक कला क्रियाकलापहरू पनि समावेश गरिने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले, थुम्केलीले बताउनुभयो ।

प्रदर्शनीमा चित्रकला (समसामयिक, परम्परागत, मुद्रणकला छायाचित्र (प्रिन्टमेकिङ) कला), मूर्तिकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला (वास्तुकला (शास्त्रीय), सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गिमा कला, मौलिक दृष्टान्त चित्रकला, कार्टुन, क्यारिकेचर, पोस्टर र डिजिटल कला), लोककला, हस्तकला विधाअन्तर्गत तोकिएको नियममा रही कलाकारले सहभागिता जनाउन पाउनेछन् ।

प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई सो प्रदर्शनीबाट राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गर्न सिफारिस भई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश भएका कलाकृतिमध्ये उत्कृष्ट कलाकृतिलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विधागत पुरस्कार उत्कृष्ट ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार (एक लाख राशिको) सबै विधामध्येबाट सर्वोत्कृष्ट एकजनालाई प्रदान गरिने छ । विधागत पुरस्कारको राशि ६० हजार रुपैयाँ, सबै विधामध्येबाट उत्कृष्ट एक जनालाई ५०, विधागत प्रादेशिक पुरस्कारको राशि ३०–३० हजार रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया