पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैन : प्रचण्ड

  माघ १३, २०८०

काठमाडौं, १३ माघ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभएको छ । 

सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिनुभयो। उहाँले समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई एकतावद्ध हुन पनि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले त परिस्थिति के छ भने सहिद प्रतिष्ठान मात्रै होइन, पार्टी एउटा मोर्चामा आउने परिस्थिति बन्दैछ । बाहिरका परिस्थितिले पनि हामीलाई समान विचार भएका, समाज इतिहास भएका, समान पीडा र भावनाबाट गुज्रिएका एकैठाउँमा आउनुपर्छ भनेर परिस्थितिले पनि दबाब दिएको छ । हामीले सचेत प्रयत्न पनि हामी समाजवादी मोर्चा हुँदै फेरि विचार मिल्नेहरु एउटै केन्द्रमा आवद्ध हुने पहलमा छौं । यहाँ भनियो नेतृत्व जन्माउन त जन्माउछ इतिहासले । जनताले जन्माउने हो नेतृत्व भनेको । तर नेतृत्व जन्मिने भनेको फेरि रातारात जन्मिने होइन । जनताले पनि रातारात जन्माउन सक्दैन । इतिहासले पनि रातारात नाटकीय ढंगले जन्माउन सक्दैन । त्यसले पनि एउटा प्रक्रियाको संघर्षको, बहसको, वैचारिक संघर्षको र वर्ग संघर्षको, वैज्ञानिक प्रयोगको एउटा प्रक्रियाबाट गुज्रिएपछि मात्रै नेतृत्व बन्ने हो । नेतृत्व पैदा हुने हो, जन्मने हो । त्यसकारण मलाई के लाग्छ भने यो कालखण्डमा जनयुद्धको तयारी, जनयुद्धको थालनी, शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता यो एउटा लामो वैचारिक र वर्ग संघर्षबाट भयो । त्यो एउटा निश्चित विचार र नेतृत्व अन्तर्गत भयो । मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकी छ भन्ने मेरो ठहर छ ।’’ 

प्रधानमन्त्री प्रचण्डले पार्टी नेतृत्वमाथि उदासिन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । कार्यक्रममा उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदको आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया