आज देशभर नवौँ राष्ट्रिय योग दिवस मनाइयो

  माघ ०१, २०८०

काठमाडौँ, १ माघ : नवौँ राष्ट्रिय योग दिवस आज देशभर विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा योग अभ्यास र योगसम्वन्धी विचार गोष्ठी गरिएको छ ।

दिवसका अवसरमा शिक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले योगलाई जीवन पद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले योगको विकास र विस्तारका लागि मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको विश्वास व्यक्त गर्नुभयो ।

सो मन्त्रालयका सचिव सुरेश अधिकारीले योग शिक्षालाई विद्यालय तहको पाठ्यक्रमा समावेश गरिएको र यसले विद्यार्थीमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो । दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले पनि आरोग्य जीवन कार्यक्रम अन्तर्गत विशेष योग कार्यक्रम आयोजना गरेको छ ।

साथै आजै पतञ्जलि योग समिति नेपाल, ब्रह्म कुमारी राजयोग सेवा केन्द्र, जीवन विज्ञान, आर्ट अफ लिभिङ्, पातञ्जली योग समितिलागयतका संस्थाले आफना शाखामार्र्फत देशभर योगसम्वन्धी कार्यक्रम गरेका थिए ।

योग तथा प्राकृति चिकित्सक डा हरिप्रसाद पोखरेलले विस २०३६ देखि माघ १ गते विश्व योग दिवस मनाउने अभियान सुरू गरिएकामा सरकारले विसं २०७२ त्यससम्वन्धी निर्णय गरेपछि यो दिवसले औपचारिकता प्राप्त गरेको हो ।

सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । सरकारको योग दिवस मनाउने घोषणभएसँगै देशव्यापीरुपमा राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।

नेपालमा आधारभुत तह, माध्यामिक तह, स्नातक तथा स्नातकोत्तर र विद्यावारिधि तहसम्म नै योग विज्ञानमा औपचारिकरुपमा पाठ्यक्रममा समावेश भई पठनपाठन तथा अध्ययन अनुसन्धान शुरु भएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया