काठमाडौँ, १ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौँको टुँडिखेलमा मगर समुदायले माघी पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निरंकुशताका विरूद्ध संघर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने जनाउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘शासक वर्गको कठोर निरंकुशता विरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाको सम्मान हुनेछ ।”
नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरूले आआफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रूपमा मनाउने माघे सङ्क्रान्ति र माघी पर्वको सुखद् अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्नुभयो ।
यो पर्व सांस्कृतिक विशेषता र विविधतायुक्त मात्र नभएर वैज्ञानिक मान्यतामा आधारित रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, “प्रकृतिवादी समुदाय हुनुको नाताले मगर समुदायका आफ्ना गतिविधि, परम्परा र संस्कृति प्रकृतिमा आधारित रहने गर्दछन । माघी पर्व, उधौली–उभौली जस्ता संस्कृतिहरू मगर समुदायले ऐतिहासिक परम्परा र जीवनवृत्तिमा आधारित छन् ।”
प्रकृतिको सम्मान स्वरूप पूजापाठ गर्ने, आफ्नो पितृलाई सम्झने–पूज्ने र चेलिबेटीलाई आफ्नो घर बोलाएर मिष्ठान भोजन खुवाउने प्रचलन मगर समुदायमा रहिआएको छ ।
माघी पर्व शिकारी युगबाट कृषि युगमा प्रवेशको संक्रमणपूर्व प्रकृतिमा पाइने तरूल, भ्याकुर, कन्दमुल जस्ता परिकार खुवाउने, आशिर्वाद दिने जस्ता कार्यहरू हुने भएकाले माघे सङ्क्रान्ति मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्व रहेको उहाँको कथन छ । सोही यथार्थलाई सम्बोधन गर्न आफ्नो नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय विदा दिने निर्णय गरेको समेत उहाँले स्मरण गर्नुभयो ।
भौगोलिक रूपले यति सानो मुलुकमा हामीले जातीय, भाषिक, सांस्कृतिक रूपमा जुन विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति भएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री दाहालले माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्ने बताउनुभयो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको अग्रणी भूमिका र योगदान रहँदै आएको स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “आज हामीले पहिचान र अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली प्राप्त गरेका छौँ, त्यसको पृष्ठभूमिमा नेपालका प्रथम सहिद लखन थापा लगायतका क्रान्तिकारी योद्धाको बलिदान महत्वपूर्ण छ ।”
प्रधानमन्त्रीले पछिल्लो समय देशको अर्थतन्त्रले चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेकाले माघी पर्वका सन्दर्भमा सरकारको सहयोग रहोस् भन्ने माग सम्बोधन गर्न नसकिएको यथार्थ प्रस्तुत गर्नुयो । उहाँले भन्नुभयो, “मेरो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधार ल्याउन गरेको लगातारको प्रयासले अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ । आगामी वर्ष अर्थतन्त्रमा गुणात्मक सुधार आउनेछ । त्यसले तपाईहरूले उठाउनुभएको माग सम्बोधन गर्नसमेत सहज हुने मैले विश्वास लिएको छु ।” कार्यक्रममा मगर समुदायका विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
सम्बोधनको पूर्णपाठ
सबैभन्दा पहिले नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरूले आ–आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रूपमा मनाउने माघे सङ्क्रान्ति र माघी पर्वको सुखद् अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्रकृतिवादी समुदाय हुनुको नाताले मगर समुदायका आफ्ना गतिविधि, परम्परा र संस्कृति प्रकृतिमा आधारित रहने गर्दछन् । माघी पर्व, उँधौली–उभौली जस्ता संस्कृतिहरू मगर समुदायले ऐतिहासिक परम्परा र जीवनवृत्तिमा आधारित छन् । यस अर्थमा यो पर्व सांस्कृतिक विशेषता र विविधतायुक्त मात्र नभएर वैज्ञानिक मान्यतामा समेत आधारित छ । प्रकृतिको सम्मानस्वरूप पूजापाठ गर्ने, आफ्नो पितृहरूलाई सम्झने–पुज्ने र चेलीबेटीहरूलाई आफ्नो घर बोलाएर मिष्ठान भोजन खुवाउने प्रचलन मगर समुदायमा रहिआएको छ ।
माघी पर्व सिकारी युगबाट कृषि युगमा प्रवेशको संक्रमणपूर्व प्रकृतिमा पाइने तरुल, भ्याकुर, कन्दमूल जस्ता परिकारहरू खुवाउने, आशीर्वाद दिने जस्ता कार्यहरू हुने भएकाले माघे सङ्क्रान्ति मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्व हो । यसै यथार्थलाई सम्बोधन गर्न मेरो नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय बिदा दिने निर्णय गरिएको पनि म यहाँ स्मरण गर्न चाहन्छु ।
भौगोलिक रूपले यति सानो मुलुकमा हामीले जातीय, भाषिक, सांस्कृतिक रूपमा जुन विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति हो । माघे सङ्क्रान्ति पर्व खस–आर्य, मगर, राई, थारु, लिम्बु, नेवार, गुरुङ, मैथिली, कुमाल लगायतका जाति जनजातिहरूको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्व हो । यस अर्थमा पनि माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्दछन् ।
नेपाली जनताको सात दशक लामो न्यायपूर्ण सङ्घर्षको बलमा जनताका प्रतिनिधिहरूको सामूहिक विवेकद्वारा निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै स्वाधीनतासहितको समृद्ध नेपालको परिकल्पना गरेको छ । तसर्थ, संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको अग्रणी भूमिका र योगदान रहँदै आएको छ । आज हामीले पहिचान र अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली प्राप्त गरेका छौँ, त्यसको पृष्ठभूमिमा नेपालका प्रथम सहिद लखन थापा लगायतका क्रान्तिकारी योद्धाहरूको बलिदान महत्त्वपूर्ण छ ।
यही विद्रोहको जगमा उठेको राजनीतिक चेतनाले १९९७ सालको शहादतसँगै २००७ सालमा राणा शासनको अन्त्य गरायो । त्यस्तै सङ्घर्षहरू २०२७, २०३६ र २०४६ साल हुँदै देश जनयुद्धमा होमियो र २०६२-६३ को बृहत् आन्दोलनले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । यो महान् जनताहरूको बलिदानको प्रतिफल थियो तर प्रेरणाको स्रोत भने उही बुङ्कोटको ऐतिहासिक विद्रोह नै थियो । विगतलाई हेर्दा पनि २००७ सालमा नेपाली कांग्रेसले र १० वर्षे जनयुद्धमा नेकपा माओवादीले अख्तियार गरेको युद्ध नीतिहरूमा बुङ्कोट विद्रोहकै स्पष्ट प्रभाव छ । तसर्थ, नेपालको क्रान्तिकारी रूपान्तरणको प्रक्रियामा लखन थापाको विरासतलाई हामीले उच्च सम्मानका साथ स्मरण गर्नैपर्छ ।
शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईँहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल गर्ने विश्वास पनि म तपाईँहरूलाई दिलाउन चाहन्छु ।
माघी पर्वका निम्ति सङ्घीय सरकारको तर्फबाट तपाईँहरूले सहयोगको अपेक्षा गर्नुभएको छ, जुन स्वाभाविक पनि छ । पछिल्लोसमय देशको अर्थतन्त्रले चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेकाले तपाईँहरूले उठाउनुभएका कतिपय विषयहरू सम्बोधन गर्न नसकिएको यथार्थ हो । तर, मेरो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधार ल्याउन गरेको लगातारको प्रयासले अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ । आगामी वर्ष अर्थतन्त्रमा गुणात्मक सुधार आउनेछ । त्यसले तपाईँहरूले उठाउनुभएको माग सम्बोधन गर्नसमेत सहज हुने मैले विश्वास लिएको छु ।
अन्त्यमा, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी आफ्ना विचारहरू राख्ने अवसर दिनुभएकोमा आयोजकहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।






